मालिकामा माओवादीका युवा नेता रेशम जुग्जाली उत्रिए चुनावी मैदानमा

विकल्प न्यूज\बेनी
वैशाख ८ गते ।

  

नेकपा माओवादी केन्द्र म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ ।
गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सात वटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उमेद्वार बनाउने निर्णय भएको माओवादीका मालिका गाउँपालिका अध्यक्ष दोरण शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा न. १ निस्कोटमा तिलक पुन, वडा नम्बर २ रुममा हर्कलाल दर्जी, वडा नम्बर ३ डाडागाउँमा मोतिप्रसाद बुढा, वडा नम्बर ४ ओखरबोटमा रेशम पुन, वडा नम्बर ५ देविस्थानमा विनोद फगामी, वडा नम्बर ६ दरवाङमा ओमकार रोका र वडा नम्बर ७ बिमको अध्यक्षमा रविन जुग्जाली माओवादी केन्द्रको तर्फबाट उमेद्वार छनौट हुनुभएको छ ।

‘मालिकाबासीको माग, आवश्यकता र अपेक्षा अनुसार योग्य र सक्षम उमेद्वार छनौट गरेका छौ,’ शेरचनले भन्नुभयो ‘मालिकाकोे समग्र विकास, सम्बृद्धी र शुसासन हाम्रा पार्टीका उमेद्वारको सामुहिक प्रतिवद्धता रहनेछ ।’

सत्ता गठबन्धनको पाँच दलीय संयन्त्रमा आवद्ध नेपाली काँग्रेसले यसअघिनै बाहलवाला गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई मालिकाको अध्यक्षको उमेद्वार बनाउने घोषणा गरेको छ । एमालेले बेगप्रसाद गर्बुजालाई गाउँपालिकाको अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

माओवादीबाट गाउँपालिका अध्यक्षमा उमेद्वार बन्नुभएका जुग्जाली गत चुनावमा बिममा स्वतन्त्रबाट उमेद्वार बनेर वडा अध्यक्षमा बिजयी हुनुभएको थियो । जुग्जालीले वडा अध्यक्षको रुपमा विकास आयोजना कार्यान्वयन, जनपरिचालन, सामाजिक विकृति न्युनीकरण र विपद् ब्यवस्थापनमा सफल नेतृत्व गर्नुभएको थियो ।

“जनतासँग दिनानुदिन सम्पर्क हुने स्थानीय तहको नीति नियम, योजना र कार्यक्रम पनि उनिहरुका आवश्यकता र भावनासँग मेल खाने हुनुपर्छ,” उहाले भन्नुभयो “त्यस्तो योजना बनाएर कार्यान्वयन गर्ने मेरो अनुभवलाई मालिकाको विकास र सम्बृद्धीमा उपयोग गर्ने लक्ष्य हो ।” गाउँ गाउँमा गुड्ने सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार ल्याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने जुग्जालीको सोच छ ।
उपाध्यक्षका उमेद्वार सेञ्चुरी गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट उपाध्यक्षकै उमेद्वार बन्नुभएको थियो । उहाँ माओवादीको गण्डकी प्रदेश कमिटी सदस्य हुनुहुन्छ । वडा अध्यक्षका उमेद्वार अधिकांश युवाहरु छन् । सबै वडाका सदस्यका उमेद्वार पनि छनौट गरेर चुनाव प्रचार अभियानलाई तिब्र बनाएको गाउँपालिका अध्यक्षका उमेद्वार जुग्जालीले बताउनुभयो ।

९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार २०१ जना मतदाता छन् । गत चुनावमा मालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले, ३ वटा वडामा एमाले, एक वटामा माओवादी र एक वटामा स्वतन्त्र उमेद्वार बिजयी भएका थिए ।

स्वतन्त्र प्यानलबाट जितेका जुग्जाली हाल माओवादीमा हुनुहुन्छ । एमालेबाट उमेद्वार बनेर जितेका वडा नम्बर ३ का अध्यक्ष हेमबहादुर पुन हाल माओवादीमै हुनुहुन्छ । बैशाख ३० गते हुने चुनावमा मालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।