म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विकल्प न्यूज/बेनी
वैशाख ८ गते ।

 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न म्याग्दीको सदरमुकाम बेनीमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । विहिवर जिल्ला अदालतका न्यायाधिश तथा मूख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जिल्ला समन्वय समितिको सभाहलमा राखिएको कार्यालय उद्घाटन गर्नुभएको हो ।

कार्यालय स्थापना गर्दै मूख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन शान्तिपूर्ण,स्वाच्छ र पारदर्शी तरिकाले सम्पन्न गराउन राजनीतिक दल,नागरिक समाज लागयत सरोकारवालाहरु भूमिका महत्वपूर्ण हुने बताउनुभयो । निर्वाचनमा धेरै भन्दा धेरै मतदाताहरुको शहभागिता बढाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो ।

यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाको भरपर्दो वातावरण मिलाइने बताउनुभयो । साथै विहिवार नै जिल्लाका ६ वटा स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमा रहेका समस्या, आचारसंहिता पालनाको अवस्थासमेत निर्वाचन अधिकृतको कार्यालयले हेर्ने छन् । साथै निर्वाचन अधिकृतको कार्यालयले मतदाता नामावली टाँस्ने, उम्मेदवारी दर्ता, मतदान गराउनेदेखि मतगणना गर्ने कामसमेत काम गर्ने निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।

कायक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एमव् प्रतिनिधि,सरकारी कार्यालयका प्रमुख तथा पत्रकाहरुको उपस्थिति रहेको थियो ।