विकल्प न्यूज/बेनी
वैशाख ७ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनौंट गर्न काँग्रेसलाई सकस परेको छ । अध्यक्ष र उपाध्यक्षमा धेरै नेताहरुले आकांक्षा देखाएपछि काँग्रेसलाई उम्मेदवार छनौंट गर्न कठिन भएको हो ।
अध्यक्ष पदका लागि पाँचजना र उपाध्यक्षमा ७ जना आकांक्षी भएपछि गाउँपालिका कार्यसमितिले जिल्लामा आकांक्षीहरुको नाम सिफारिस गरिएको सभापति मनकुमार शेरपुञ्जाले बताउनुभयो ।
अध्यक्ष पदमा गाउँकार्यसमितिका सभापति शेरपुञ्जा,महाधिवेशन प्रतिनिधि मुकुन्द छन्त्याल,वहालवाला पालिका अध्यक्ष भवबहादुर भण्डारी,महाधिवेशन प्रतिनिधि शिव केसी र वडा नम्बर ३ का वडाध्यक्ष जीवन मल्लले अध्यक्ष पदका लागि दावी पेश गर्नुभएको छ ।
यसैगरी उपाध्यक्षमा वहालवाला उपाध्यक्ष कमला तिलिजा, कमला केसी,सम्झना परियार,ओमकुमारी फगामी,रिती थजाली, प्रेमकुमारी पुन र रिमु पाइजाले दावी गर्नुभएको सभापति शेरपुजाले जानकारी दिनुभयो । आकांक्षीहरुको नाम हामीले जिल्लालाई सिफारिस गरेका छौं रघुगंगा गाउँकार्यसमितिका अध्यक्ष शेरपुजाले भन्नुभयो ‘उम्मेदवाहरुकाबीच जिल्लाका नेताहरुले छफलफल चलाउनुभएको छ, भोली सम्म उम्मेदवार टुंगो लाग्छ ।’
पालिका कार्यसमितिका अध्यक्ष शेरपुजाको अध्यक्ष पदमा बलियो दावी रहेको छ । हाल पाखापानीका वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा प्रष्ट विचार राख्ने क्षमतावान युवा हुनुहुन्छ ।
त्यस्तै हालकै पालिका अध्यक्ष भवबहादुर भण्डारीको पनि बलियो दावी रहेको बुझिएको छ । उहाँ फेरी पनि अध्यक्ष पद दोहोराउने सोचमा रहेको काँग्रेस कार्यकर्ताहरु बताउँछन् ।
इमान्दार र स्वच्छ छविको पहिचान बनाउनुभएका भण्डारीलाई पुन उम्मेदवार बनाउँदा सहजै चुनाव जित्न सकिने आकलन जिल्लाका नेताहरुले गरेका छन् । वडा ३ का वडाअध्यक्ष मल्लले आफूले जसरी पनि टिकट पाउनुपर्ने भन्दै नेताहरु समक्ष बलियो दाबी राख्नुभएको छ । अन्तिममा आएर सभापति शेरपुजा र पालिका अध्यक्ष भण्डारी मध्य एकजनाले टिकट पाउने काँग्रेस नेताहरुले बताउँछन् ।