बेनीमा एमालेलाई उम्मेदवार टुंगाउन सकस् काँग्रेस प्रचारमा जुट्यो

विकल्प न्यूज/बेनी
वैशाख ६ गते ।

 अघिल्लो स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका हरिकुमार श्रेष्ठले नगरलाई एकफन्को मारेर बेनी झर्दा पनि एमालेले उम्मेदवार टुंगो लगाउन सकेको थिएन ।

उम्मेदवार दर्ताको दिन विहान मात्रै एमालेले प्रमोद श्रेष्ठलाई उम्मेदवार बनाउने टुंगो लगाएको थियो । यसपाली पनि एमालेले उही नियती दोहोराउने देखिएको छ । टिकटका लागि पार्टीभित्र कडा प्रतिस्पर्धा सुरु भएको छ । मेयरका आकांक्षीहरु टिकट पाउन लविङ थालेका छन् ।

एकहप्ता अघि बसेको नगरकमिटीको वैठकमा सर्वसम्मत नभएपछि चार जना आकांक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको थियो । नेकपा एमालेमा मेयरका लागि प्रमोद श्रेष्ठ,सन्तोष रावल, सुरत केसी र नारायण जिसीको नाम सिफारिस गरिएको छ ।

मेयरका आकांक्षीहरुलाई राखेर जिल्ला कमिटीले छलफल गरेपनि सहमति नभएपछि चारैजना आकांक्षीहरुको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटीका उपसचिव राजकुमार थापाले बताउनुभयो ।

अव मेयरको टिकट दिने निर्णय प्रदेश कमिटीलाई भएको उहाँले बताउनुभयो । कसले टिकट ल्याउँछ भन्न सकिने अवस्था छैन थापाले भन्नुभयो ‘सवैजना क्षमतावान र योग्य हुनुहुन्छ जसले ल्याएपनि पार्टी एकतावद्ध भएर निर्वाचनमा जान्छ ।’ आगमी आइतबार र सोमबार उम्मेदवारी दर्ताको दिन आयोगले तोकेको छ ।

अघिल्लो निर्वाचनमा उम्मेदवार टुंगो समयमा लगाउन नसक्दा पराजित भएको समिक्षा गरेको एमलेले यसपाली पनि उही कमजोरी दोहोराएको एमाले कार्यकर्ताहरु बताउँछन् । विपक्षी दल उम्मेदवार टुंगो लगाएर प्रचारमा जुटीसक्दा पनि एमालेले उम्मेदवार टुंगाउन नसक्नुले कार्यकर्ता र मतदाताहरुमा राम्रो सन्देश नगएको ति नेताले बताउनुभयो ।

नेपाली काँग्रेसका तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका चिरञ्जीवि शर्मा चुनावी अभियान लिएर मतदाताको घरदैलो अभियानमा हुनुहुन्छ । काँग्रेसको जिल्ला कार्यसमितिको पदाधिकारीको वैठकले १० जना आकांक्षीहरु मध्यबाट शर्मालाई उम्मेदवार बनाउने निर्णय वैशाख २ गते गरेको थियो ।