विकल्प न्यूज\बेनी
वैशाख १ गते ।
म्याग्दीमै नेपाली काँग्रेसको गढ मानिएको रघुगंगगा गाउँपालिकामा एमालेले उम्मेदवार टुंगाएको छ । नेपाली काँग्रेसले भने उम्मेदवार टुंगाएको छैन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले र माओवादीका विच चुनावी तालमेल हुँदा पनि काँग्रेस फराकिलो मतले विजयी भएको थियो । २ नम्बर भगवतीमा वडा वाहेक सवै वडामा काँग्रेसले जितेको थियो ।
बुधवार सम्पन्न पार्टीको गाउँपालिका कमिटीको बैठकबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा दीपक कार्की ‘बिखर्ची’ र उपाध्यक्षमा यामकुमारी गर्वुजालाई चयन गरेको छ ।
रघुगंगा गाउँपालिका–३ रानीपौवा निवासी कार्कीलाई अध्यक्ष र सोही वडाको मौवाफाँट निवासी गर्वुजालाई उपाध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अध्यक्षका उम्मेदवार कार्की एमाले रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार गर्वुजा गाउँपालिका कमिटीका उप–सचिव हुनुहुन्छ ।
कार्कीले रघुगंगाको एक बौद्धिक, कुशल नतृत्व गर्न सक्ने आँटिलो नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँले रघुगंगाको विकास, समृद्धि र सुशासनका निम्ती अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । पालिकाका गरिव, असहाय, अशक्तहरुको जीवन स्तर माथि उकास्ने गरि सामाजिक र साँस्कृतिक परिवर्तन गर्दै पालिकाबासीहरुको भविस्य सुन्दर बनाउने आफ्नो लक्ष रहेको कार्कीको भनाई छ ।
उक्त बैठकले वडा अध्यक्ष सहित वडा सदस्यहरुको समेत उम्मेदवारहरुको टुंगो लगाएको छ । एमालेले रघुगंगा १ बेगखोलामा धनबहादुर गर्वुजा, २ भगवतीमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ४ दग्नाममा इन्द्रमान थजाली, ५ झिँमा तेजु शेर्पुञ्जा, ६ पाखापानीमा शम्सेर पाईजा र ७ चिमखोलामा रिम पाईजालाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा नम्बर ८ मा भने केहि दिनभित्रै उम्मेदवारको टुंगो लगाउने जनाइएको छ ।
अघिल्लो निर्वाचनमा अध्यक्षमा नेपाली काँग्रेसका भव बहादुर भण्डारीले ४ हजार ४ सय ३४ मत ल्याउँला एमालेका खिमबहादुर शाहीले २७ सय ३० मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा ३८ सय ४७ मत ल्याउदा माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका हरि भण्डारीले २६ सय ६२ मत प्राप्त गर्नुभएको थियो ।
२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनलाई आधार मान्दा एमाले रघुगंगामा बलियो थियो । तत्कालिन अवस्थामा एमालेले रघुगंगाका सवै गाविसहरु जितेको थियो । एमालेका केन्द्रीय,प्रदेश र जिल्ला स्तरका नेताहरु भएको पालिकामा एमाले पछिल्लो समय किन कमजोर भयो भन्ने विषयलाई गम्भिररुपमा समिक्षा गर्नुपर्ने एमाले कार्यकर्ताहरु बताउँछन् ।
एमालेको गढ मानिएका चिमखोला,झिँ,पिप्ले र बेगखोलामा अघिल्लो निर्वाचनमा एमाले पराजित भएको थियो । एमाले र माओवादीको तालमेलबाट २ नम्बर भगवती भने माओवादीले जितेको हो । यसपाली एमालेले पुरानो विरासत फर्काउन सक्ला वा नसक्ला त्यो हेर्न वैशाख ३० गते कुर्नुपर्ने हुन्छ ।