विकल्प न्यूज\बेनी
चैत २९ गते ।
बेनी नगरपालिका ६ स्थित अर्थुङ्गेमा सडक कालोपत्रे गरिएको छ । बेनी – अर्थुङ्गे – घतान – पाखापानी सडक अन्तर्गत अर्थुङ्गेको देउराली देखि एकसय ७० मिटर सडक कालोपत्रे योजना सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का मार्फत सडक कालोपत्रे र दुईसय पचास मिटर पक्की नाली निर्माण गरेको छ ।
सडक कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयले श्रमजीवी निर्माण सेवासँग ६ महिनाभित्र निर्माण सक्नेगरी गत पुष ९ गते २८ लाख ५२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सडक ग्राभेल सहित कालोपत्रे र नाली निर्माण तोकीएको मिति भन्दा दुईमहिना अगावै सम्पन्न गरेको श्रमजिवी निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताउनुभयो ।
उक्त स्थानमा बर्खायाममा हिलो र हिउदमा धुलोले स्थानीयवासीहरुले सास्ती भोग्नुपरेको थियो । सडक कालोपत्रे भएसँगै स्थानीयहरु हिलो र धुलोबाट मुक्त भएका छन् । यसअघि बेनी नगरपालिकाले बेनी देखि देउराली सम्म सडक कालोपत्रे गरेको थियो । गत वर्ष आएको बाढीपहिरोका कारण महारानीथान, बुद्धविहारमा सडक भत्काइदिएको थियो । उक्त स्थानमा नाली र सडक मर्मतको काम भइरहेको छ ।