विकल्प न्यूज\बेनी
चैत १३ गते ।
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिंगा तातोपाननीमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण योजना सम्बन्धी अभिमुखिकरण सुरु भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको आयोजना एवं राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको सहयोगमा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले उद्घाटन गर्नुभयो । उपप्रमुख बरुवालले व्यक्तिगत घटना दर्ता गर्दा कानुनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अरुको दवाब मा नपरी र आग्रहपुर्वाग्रह नराखी कर्मचारी र जनप्रतिनिधिले आम नागरिकको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
अनलाइन सेवाले थप सहयोग पुगेको उहाँको भनाई थियो । कार्यक्रममा मंगला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर खातीले व्यक्तिगत घटना दर्ता सम्बन्धी सबैमा ज्ञान नहुँदा जनप्रतिनिधि र कर्मचारीलाई थप समस्या हुने गरेको बताउनुभयो ।
मंगला गाउँपालिका शिक्षा शाखा संयोजक डेकबहादुर बानियाँले विद्यालयमा पहिले जन्मदर्ताको कारण समस्या हुने गरेको भएपनि पछिल्लो समय भने अभिभावक र विद्यार्थीले व्यक्तिगत घटना दर्ता सम्बन्धीको कानुन अनलाइन सेवाले गर्दा सहज भएको बताउनुभयो ।
बेनी नगरपालिकाको पञ्जिकरण शाखाका फिल्ड सहायक गोविन्द पौडेलले कार्यक्रमको संचालन गर्नुभएको थियो । सोमबार सम्म संचालन हुने कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट प्रमुख प्रशिक्षक संजित पौडेलले प्रशिक्षण दिनुभएको छ ।
पहिलो दिन अभिमुखीकरण तालिम कार्यक्रममा व्यक्तिगत घटना दर्ता, दर्ताको आवश्यकता र महत्व, दर्ता प्रक्रिया, सम्बन्धित निकाय लगायतका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो । भने सोमबार प्राविधिक सम्बन्धी प्रशिक्षण गराइने भएको छ । तालिममा मंगला र बेनी नगरपालिका पञ्जिकरण शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको छ ।