ताजा समाचार:
Search

बेनीको मेयरमा काँग्रेसबाट आधा दर्जन आकांक्षी

विकल्प न्यूज\बेनी
चैत ९ गते ।


आगमी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लाका राजनीतिक दलहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेसँगै जिल्लामा चुनावी माहोल थप तातिएको छ । निर्वाचन कार्यक्रम अनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । जिल्लाको एकमात्र नगरपालिका बेनीको मेयरको उम्मेदवार बन्न काँग्रेस भित्र रस्सकस्सी सुरु भएको छ । आधा दर्जन बढी नेताहरुले मेयरको टिकटका लागि लबिङ थालेको चर्चा छ ।

नेताहरुले पार्टी भित्र उम्मेदवारको टिकटका लागि आ–आफ्नो तवरले लविङ थालेका छन् । अघिल्लो निर्वाचनमा मेयरमा झीनो मतअन्तरले जित हासिल गरेको काँग्रेस भित्र यसपटक टिकटका लागि आधादर्जन भन्दा बढी नेताहरु आकांक्षी देखिएका छन् । उम्मेदवारको आकांक्षीहरुमा युवा भन्दा पाका पुस्ता बढी देखिएका छन् ।

काँग्रेसको जिल्ला समितिको विगतमा विभिन्न पदमा बसेर काम गरिसकेका पाका नेताहरु मेयर पदका लागि आकांक्षी देखिएका छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्र सँग तालमेल गरेर मेयर पद जितेको काँग्रेसले यसपटक भने तालमेल गर्ने वा नगर्ने कुनै निर्णय अहिले सम्म गरेको छैन । उम्मेदवारको आकांक्षी नेताहरुले जिल्ला,प्रदेश र केन्द्र सम्मका नेताहरु समक्ष लविङ थालेका छन् ।

खुला रुपमा उम्मेदवारको आकांक्षी घोषणा नगरेपनि नेताहरुले भित्री रुपमा कार्यकर्ता भेटघाटमा आफू यसपटको मेयर पदका लागि आकांक्षी भएको बताउन थालेका छन् । निर्वाचनमा नेकपा एमाले सँग कडा प्रतिस्पर्धा हुने बेनी नगरमा विश्वासिलो,भरपर्दो र लोकप्रिय नेतालाई अघि सारेमा मात्र जित्न सकिने काँग्रेसले आंकलन गरेको छ ।

नेपाली काँग्रेसको जिल्ला समितिमा एक कार्यकाल उपसभापति भएर काम गरिसक्नुभएका माधवप्रसाद रेग्मी,पूर्व सचिव क्या. मीनबहादुर कार्की,महाधिवेशन प्रतिनिधि तथा कानुन व्यवसायी जिरञ्जीवि शर्मा, विगतमा काँग्रेस विभाजन हँुदा नेपाली काँग्रेस प्रजातान्त्रीकमा लाग्नुभएका काँग्रेसका पुराना नेता नेत्रबहादुर महत, बेनी नगर सभापति रबी कार्की, जिल्ला सचिव तथा युवा नेता भरत रकाल र लामो समय शिक्षक पेशाबाट अवकास लिएर राजनीतिमा लाग्नुभएका दुर्गाराम सुवेदीको नाम चर्चामा छ ।

लामो समय शिक्षण पेशाबाट राजनीतिमा आउनुभएका पार्टीका पूर्व उपसभापति रेग्मी नयाँ पुस्तामा लोकप्रिय नभएपनि अनुभवी,भरपर्दो, जिल्लाका विभिन्न सामाजिक संघसंस्थाको सफल नेतृत्व गर्नुभएको पाको नेताका रुपमा परिचित हुनुहुन्छ । २०६२÷०६३ को १९ दिने जनआन्दोलनमा जिल्लामा जुझारु रुपमा आन्दोलनको नेतृत्व गर्नुभएको रेग्मीको यसपटक मेयर पदका लागि शसक्त दावी छ ।

पार्टीको हालै सम्पन्न भएको जिल्ला अधिवेशनमा उहाँ उपसभापति पदमा पराजित भएता पनि काँग्रेसको पंक्तिभित्र बलियो पकड भएको नेताका रुपमा लिने गरिएको छ । रेग्मीले कार्यकर्ता पंक्तिमा आगमी निर्वाचनमा मेयर पदमा बलियो दावी राख्नुभएको काँग्रेस स्रोतले बतायो ।

यस्तै पूर्व सचिव क्या. कार्कीको पनि मेयर पदका लागि दावी बलियो रहेको छ । विगतमा नारायणसिंह पुनले नेतृत्व गरेको समता पार्टीबाट काँग्रेसको राजनीतिमा आउनुभएको कार्की भारतीय सेनाबाट अवकास लिएर राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । बेनी नगरपालिका २ ज्यामरुककोट निवासी कार्की पार्टीको गत जिल्ला अधिवेशनमा उपसभापति पदमा पराजित हुनुभएको थियो ।

पार्टी कामका लागि इमान्दार भएर निरन्तर रुपमा लाग्ने कार्की टिकटका लागि बलियो दाबी राख्नुभएको छ । उहाँले भित्री रुपमा कार्यकर्ताहरु माझ आफू नै मेयरको उम्मेदवार हुने बताउँदै आउनुभएको छ ।

कानून व्यवसायी तथा महाधिवेशन प्रतिनिधि शर्मा पनि काँग्रेस भित्र बलियो पकड भएको नेताका रुपमा लिने गरिन्छ । काँग्रेसको राजनीतिक र सैद्धान्तिक विचारलाई आम कार्यकर्ता माझ पु¥याउन सक्ने क्षमता राख्ने शर्मालाई पार्टी भित्र वैचारिक र सैद्धान्तिक लिडरका रुपमा लिने गरिन्छ । बेनी नगरपालिका १० पात्लेखेत निवासी शर्माले काँग्रेसको महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मत ल्याउनु भएको थियो । कट्टर विचारकका रुपमा लिने शर्मालाई विपक्षी दलका कार्यकर्ताहरुको सहानुभूति भने पाउन कठिन छ ।

अर्का उम्मेदवारको आकांक्षी बेनी नगरपालिका १ रत्नेचौर निवासी महत लामो समय नेपाली काँग्रेसको राजनीतिमा लागेपनि जिल्लाको नेतृत्वमा पुग्न सक्नुभएको छैन । पार्टी विभाजन हुँदा नेपाली काँग्रेस प्रजातान्त्रीक तर्फ लाग्नुभएका महतलाई विगतमा शेरबहादुर देउवाको विश्वासिलो पात्रका रुपमा लिने गरिएको भएता पनि पछिल्लो समय देउवाले विश्वास गर्न छाडेको काँग्रेसीहरु बताउँछन् । जिल्ला सभापतिमा खम्बीर गर्बुजा आएसँगै महत ओझेलमा परेको काँग्रेस स्रोतको दावी छ । काँग्रेसको राजनीतिमा लागेर लाभको पदमा हासिल गर्न नसक्नुभएका महत स्वच्छ छविको नेताको रुपमा लिने गरिन्छ ।

पार्टी भित्र आन्तरिक चुनावी प्रतिस्पर्धाबाट नगरको सभापति हुनुभएका व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा छलाङ् मार्नुभएका कार्की मेयर पदका लागि स्वभाविक रुपमा दावी रहेको चर्चा छ । त्यस्तै काँग्रेसको राजनीतिमा उदायमान युवाको छवि बनाउनुभएका जिल्ला सचिव रकाललाई पनि आगमी मेयरको उम्मेदवारका रुपमा लिने गरिएको छ । युवा माँझ लोकप्रिय रकाल केन्द्रमा महामन्त्री गगन थापा निकट हुनुहुन्छ ।

शिक्षक पेशाबाट आवकाश लिएर काँग्रेसको राजनीतिमा सक्रिय सुवेदी बेनी नगरपालिका ३ भकिम्ली निवासी हुनुहुन्छ । काँग्रेसको जिल्ला सचिवमा पराजित हुनुभएका शर्मा पनि यसपटक मेयर पदका लागि दावी रहेको चर्चा छ । अन्य केही नेताहरूले पनि आकांक्षा देखाएको बुझिए पनि उनीहरू खुल्न भने चाहेका छैनन् । काँग्रेसको जिल्लामा संस्थापन पक्ष र रामचन्द्र पक्ष दुई खेमा छन् । पालिका अधिवेशन देखि जिल्ला अधिवेशन सम्म आउँदा संस्थापन पक्ष बलियो देखिएको छ । दुवै पक्ष विच पार्टी भित्र चर्को गुटबन्दी छ ।