ताजा समाचार:
Search

काँग्रेसको मापदण्ड ः लोकप्रियताको आधारमा टिकट

विकल्प न्यूज\बेनी
चैत ६ गते ।


आसन्न स्थानीय तहको निर्वाचनमा लोकप्रियताको आधारमा नेपाली काँग्रेसले उम्मेदवारको टिकट दिने भएको छ । निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएको काँग्रेसले व्यक्तिको लोकप्रियताको आधारमा टिकट दिने बताएको हो । स्थानीय चुनावलाई लक्षित गरेर कांग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले सो कुरा बताउनुभएको हो ।

पहुँच र चाकडीका आधारमा कसैलाई टिकट वितरण गरिँदैन सभापति शर्माले भन्नुभयो ‘टिकट वितरणको पहिलो मापदण्ड लोकप्रियता हो । उम्मेदवारका आकांक्षी नेताका घरमा धाइरहनु पर्दैन जनताका माँझ को कति लोकप्रिय छ भन्ने कुरा पार्टीलाई राम्रोसँग जानकारी छ ।’ कम्युनिष्ट पार्टीको तर्फबाट प्रधानमन्त्री भएका सबैले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई अगाडी बढाएपनि अहिलेको सरकारमाथि भ्रम छरेको भन्दै ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानमा चिर्नुपर्ने उहाँको भनाई थियो ।

‘एमसीसीका बारेमा धेरै भ्रम चिरिइसकेको अवस्था छ,‘अनुदानमा राजनीति गरेर जनतालाई भ्रममा पार्ने दिन गए’ सभापति शर्माले भन्नुभयो । प्रशिक्षण कार्यक्रममा तत्कालिन कम्यूनिष्ट पार्टीले एमसीसीमा दोहोरो भूमिका खेलेकाले अधिकांस जनताले बुझिसकेको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य चम्पादेवी खड्काले अभियानमार्फत गाउँघर,टोलमा पुगेर सरकारले गरेका कामको प्रचारप्रसार गर्न अनुरोध गर्नुभयो

भेलामा गण्डकी प्रदेश कार्यसमितिका महामन्त्रीद्धय किरणबाबु श्रेष्ठ विष्णु लामिछाने,सहमहामन्त्री कोपिला रानाभाटले एमसीसी पारित गरिएको कारणबारे प्रष्ट्याउनुको साथै संविधानको रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्नुपर्ने बताउनुभयो । प्रशिक्षणमा संविधान सभाका सदस्य रेशमबहादुर बानियाँ, उपसभापति केबी भण्डारी, पूर्व सहसभापति नेत्रबहादुर महत, नेपाली कांग्रेस प्रदेश ‘क’ सभापति ओम छन्त्याल, ६ वटै पालिकाका सभापतिले बोल्नुभएको थियो ।

सभापति खमबहादुर गर्बुजाको अध्यक्षता, उपसभापति हरिकुमार श्रेष्ठको स्वागत र सचिव भरत रकालको सञ्चालनमा सम्पन्न भएको थियो । नेपाली कांग्रेसले गाउँ अभियानसँगै भ्रातृ संस्थाले वडा र टोलस्तरमा समेत संगठन विस्तार र प्रशिक्षण गरिरहेका छन् । चुनावी माहोल आफ्नो पक्षमा पार्न दलहरू टोल–टोलसम्म सक्रिय बनेका छन् ।