रत्नेचौर धार्मिक महोत्सवमा ३१ लाख संकलन

विकल्प न्यूज\बेनी
फागुन ३० गते ।


बेनी नगरपालिका १ रत्नेचौरमा आयोजना गरिएको रत्नेचौर धार्मिक महोत्सवमा ३१ लाख रुपैया भन्दा वढी संकलन भएको छ । ८ दिन सम्म सञ्चालन भएको धार्मिक महोत्सवमा भक्तजनहरुबाट ३१ लख ७० हजार एकसय तीन रुपैयाँ नगद संकलन भएको महोत्सव मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीले जानकारी दिनुभयो ।

संकलन भएको रकमबाट खर्च कटाएर बाँकी रहेको रकम अक्षयकोषमा जम्मा गरिने उहाँले बताउनुभयो । अक्षयकोषको ब्याजबाट प्राप्त भएको आम्दानीले मन्दिरको व्यवस्थापनमा खर्च गरिने उहाँले बताउनुभयो महायज्ञमा सबैभन्दा धेरै स्वामी हिमालय बाबाले ६ लाख ६६ हजार ६६६, कमला कुँवर १ लाख २९ हजार ३४५, लालबहादुर न्यौपाने १ लाख १११ हजार, बलबहादुर थापा १ लाख २५ रुपैयाँ, बसन्त बोगटी गुठी कोषबाट ९७ हजार ७ सय ७७ दान गर्नुभएको मन्दिरका सचिव एवम् मुल आयोजक समितिका उपाध्यक्ष बोगटीले जानकारी दिनुभयो ।

महोत्सवमा दैनिक रुपमा धार्मिक प्रवचन गरिएको थियो । पछिल्लो समय तोरीवारीका कारण भाइरल बनेको रत्नेचौरको धार्मिक पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हो । महोत्सवको गत फागुन २३ गते गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उदघाटन गर्नुभएको थियो ।

लक्ष्मीहरि भगवान मन्दिरको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा धार्मिक महोत्सवका रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिले जनाएको छ ।

महाज्ञयको अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट भक्तजनहरुको आगमन भएको प्रचारप्रसार समितिका संयोजक विक्रम बोगटीले बताउनुभयो ।