म्याग्दीमा काँग्रेसको चुनावी अभियान सुरु

धनिलाल गर्बुजा \विकल्प न्यूज
फागुन २९ गते ।


नेपाली काँग्रेस म्याग्दीले आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्र सुरु गरेको छ । आइतबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर काँग्रेस जिल्लाभर एकसाथ अभियान थालेको हो । ‘‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’’ भन्ने नारा सहित एकमहिने अभियानको पुर्व राज्यमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले उद्घाटन गर्नुभयो ।
एक महिने जागरणको अभियानमा आफु हरेक घर,टोल,वडा र पालिकामा पुग्ने बताउनुभयो । आगमी स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेद्धारलाई जिताउन हरेक गाउँ, टोल र हरेक घरमा पुग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टी भित्रको आन्तिरिक गुटबन्दीलाई त्यागेर सबै एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो । काँग्रेसको सरकारले विकास निर्माणको काम गरेपनि प्रचारप्रसार कम भएको उहाँले बताउनुभयो । ‘हाम्रो सरकारको पालामा पुर्वाधारदेखि लिएर विकास निर्माणका योजनाहरु ल्याइए पनि हाम्रै साथिहरुले प्रचारप्रसार गर्नुहुन्न । त्यसै कारण हामी पछाडी प¥यौं ’,उहाँले भन्नुभयो ।

जागरण अभियानको क्रममा आगामी निर्वाचनमा मतदानमा सहभागि भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सबैलाई सहभागी हुन आग्रह गर्ने,स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेद्धारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने,काँग्रेस सरकारको पालामा हासिल भएका आर्थिक,राजनितिक उपलब्धी र विकासको बारेमा जनतालाई जानकारी गराउने, नेकपा सरकारका पालामा भएका भ्रष्टचार र अनियमिताको बारेमा भण्डाफोर गर्ने ,लगायत उद्धेश्यहरु रहेका छन् ।

कम्युनिष्टकै कारण दुई तिहाईको सरकार ढलेको स्मरण गर्दै केन्द्रीय सदस्य खड्काले भन्नुयो, ‘नेकपाको दुई तिहाइको सरकार थियो,आफ्नै कारण तीन बर्षमै ढलेपछि देश र संविधानको रक्षाको गर्न पाँच बर्षको लागि प्रतिपक्षमा बसेको कांग्रेस सरकारको नेतृत्व सम्हाल्न बाध्य भएको हो ।’

एमसीसीको बारेमा कम्युनिष्टहरुले माकुराको जाल भन्दा छिटो भ्रम फैलाइएको उहाँको भनाई छ । देशको विकास ,राजनीति स्थायीत्वको लागि भएपनि कांग्रेसलाई निर्वाचनमा जिताउनुपर्ने बताउनुभयो । म्याग्दीको विकास गर्न,रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता हटाउन र बसाईसराई रोक्नलाई पनि कांग्रेसले जित्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले चुनावलाई लक्षित गरेर ७ फागुनदेखि नै जागरण अभियानको योजना बनाएको बताउनुभयो । उहाँले जिल्लाले खटाएका संयोजक सहितको टोलीले हरेक टोल,वडा,पालिकामा पुगेर आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो ।

निर्वाचनमा नडराउन आग्रह गर्दै सभापति गर्बुजाले सबै एकजुट भएर अभियानमा लाग्न निर्देशन दिनुभयो । कम्युनिष्ट सरकारले गरेका गलत क्रियाकलाप र अनियमिताको खुलेर विरोध गर्न आग्रह गर्नुभयो । कांग्रेस सरकारले गरेका विकास निर्माणको जनता माझमा प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,उपसभापति केबी भण्डारी,पुर्व सहसभापति नेत्रबहादुर महत,सचिव भरत रकाल, कोषाध्यक्ष अमृतमान शेरचन ,सहसचिव श्रीराम पौडेल, महाधिवेशन प्रतिनिधि तथा नेता चिरञ्जीवि शर्मा ,कांग्रेस गण्डकी प्रदेश सदस्य तथा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, महाधिवेशन प्रतिनिधि सदस्य तथा मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर,तरुणदल म्याग्दीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि मुकुन छन्त्याल, महाधिवेशन प्रतिनिधि बलभद्र ढकाल, जिल्ला सदस्य सम्झना परियार ,कांग्रेस प्रदेशसभा क का क्षेत्रीय कार्यसमितिका सभापति ओम छन्त्याल,प्रदेशसभा ख का सभापति टंकप्रसाल पुन, धवलागिरीका सभापति प्रेम पुन ,अन्नपुर्णका सभापति क्याप्टेन बलबहादुर तिलिजा,रघुगंगाका सभापति मनकुमार शेरपुजा ,दलित संघ म्याग्दीका अध्यक्ष थमन घिमिरे, अन्नपुर्णपुर्ण गाउँपालिका २ का सभापति रेखिराम पुर्जा ,मंगला ४ वडा सभापति लालबहादुर रोका लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन सचिव हिराबहादुर पुनले गर्नुभएको थियो भने स्वागत उपसभापति तथा बेनी नगरका मेयर श्रेष्ठले गर्नुभएको थियो ।