पत्रकार शर्माद्धारा छोरीको स्मृतिमा विद्यालयमा अक्षयकोष

विकल्प न्यूज/बेनी
फागुन २७ गते ।


म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वति आधारभूत विद्यालयमा दिवङ्गत छोरीको स्मृतिमा पत्रकार धुब्रसागर शर्माले अक्षयकोष स्थापना गरेका छन् ।

क्यान्सरको उपचारको क्रममा निधन भएकी विनिता शर्माको स्मृतिमा पत्रकार शर्मा र धर्मपत्नी अम्बिका शर्माले शुक्रबार विब्यस अध्यक्ष चित्रबहादुर रिजाल,प्रधानाध्यापक छेमबहादुर पुनलाई नगद हस्तान्तरण गरेका हुन् ।

विद्यालयको स्तरोन्नति तथा विकासको लागि आर्थिक अभियान अभियान सञ्चालन भइरहेको अवस्थामा कोष स्थापना गरी सहयोग गरेको पत्रकार शर्माले बताए । ‘छोरीको उपचारमा सहयोग गर्ने सम्पूर्णप्रति आभारी छु,‘छोरीको अधुरो चाहना पुरा गर्ने प्रयास गर्नेछौ’ शर्माले भने ।

उनले छोरीको उपचारमा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगमा बचत ६३ हजारमा थप गरी कोष स्थापना गरिएकाले भविस्यमा ५ लाखसम्म पु¥याउने प्रतिबद्धता समेत जनाए । कोषबाट गरीब, विपन्न, जेहेन्दार र उत्कृष्ट विद्यार्थीलाई सहयोग गरिने छ ।

कोष स्थापनाको अवसरमा शैक्षिक स्तरबृद्धि तथा आर्थिक सहयोग संकलन समितिका संयोजक कृष्णबहादुर थापा,कृषि बैज्ञानिक मदन थापा, विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरे, पूर्व प्रअ भद्रबहादुर घिमिरे, सक्रिय यूवा पदम घिमिरे लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

यसैबीच मावि तह सञ्चालन गर्ने उद्देश्यका साथ गाउँका साथै देश विदेशमा रहेका बगरफाँटवासीहरु जुटेका छन् ।
पूर्व म्याग्दी बहुमुखी क्याम्पस प्रमुख कृष्णबहादुर थापाको संयोजकत्वमा ५१ सदस्यीय शैक्षिक स्तरबृद्धि तथा आर्थिक सहयोग संकलन समिति गठन गरी हालसम्म १३ लाख ५२ हजार ३४५ रुपैयाँ संकलन भएको विद्यालयले जनाएको छ ।

अभियानमा बगरफाँट स्थायी घर भै हाल काठमाण्डौंमा बसोबास गर्दै आउनुभएका अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्की,म्याग्दी बहुमुखी क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, नेपाल सरकारका पूर्व सहसचिव मदन थापा,स्थानीय बुद्धिजीविहरु क्या.मीनबहादुर कार्की,चन्द्रबहादुर घिमिरे,रामबहादुर कार्की,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायणवहादुर कार्की,कृष्णबहादुर कार्की,गोपाल घिमिरे, नविन घिमिरे,पदम घिमिरे,खगराज निउरे,इन्द्रबहादुर जिसी,दीपक घिमिरे,नारायण थापा लगाएतको पहलमा अहिले विद्यालयको स्तरोन्नति र संस्थागत विद्यालयको जस्तै अंग्रेजी माध्यमद्धारा पठन पाठनको तयारी भैरहेको शिक्षिका घनदेबी घर्तीले बताईन् ।

विद्यालयको स्तरोन्नति र शैक्षिक विकासका लागि अहिले देश विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरु,शुभ चिन्तक तथा विद्यालयका शिक्षक,कर्मचारी,अभिभावक र स्थानीयवासीहरुबाट आर्थिक संकलन अभियान शुरु गरिएको अभियानका संयोजक कृष्णबहादुर थापाले जानकारी दिए ।

स्थानीय युवा तथा विद्यालयका पूर्व विद्यार्थी पदम घिमिरेले विद्यालयको सर्वाङ्गीण विकासका लागि समुदायको साथ र सहयोग आवश्यक पर्ने भएकाले देश विदेशमा रहेका बगरफाँटवासीहरुले आफ्नो गाउँको विद्यालयलाई नमूना विद्यालय बनाउने अभियान संचालन गरिएको बताए ।

बि.स २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत छन् । निकट भविस्यमा मावि तहसँगै प्राविधिक विषयलाई समेत लक्षित गरी १ करोडभन्दा बढीको अक्षय कोष स्थापनाको अभियान रहेको जनाइएको छ ।