मालिकामा दलित मुक्ति मोर्चा र अनेमसंघ क्रान्तिकारीको कमिटी गठन

विकल्प न्यूज\बेनी
फागुन २६ गते । 

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा र अनेमसंघ क्रान्तिकारीको मालिकामा पालिका स्तरीय कमिटी गठन गरिएको छ । विहिवार दरबाङमा भएको प्रथम भेलाले दलबहादुर खड्काथोकीको अध्यक्षतामा ४५ सदस्यीय दलित मुक्ति मोर्चा र भुमसरा रोकाको अध्यक्षतामा ३५ सदस्यीय अनेमसंघ क्रान्तिकारीको कमिटी गठन गरिएको हो ।

भेलामा नेकपा माओवादी केन्द्र जिल्ला संयोजक रेशम जुग्जालीले माओवादीको दश वर्षे जनयुद्धका कारण महिला र दलितका अधिकारहरु संविधानमा उल्लेख गर्न सफल भएको बताउनुभयो ।

संविधानमा लेखिएका हकअधिकारलाई व्यवहारिक रुपमा कार्यान्वनयका लागि अव हुने स्थानीय तह,प्रदेश र संघको निर्वाचनमा माओवादीलाई जिताउनु पर्ने उहाँको भनाई थियो । माओवादीले जितेमात्र दलित र महिला अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वनयमा लैजान सहज हुने उहाँले बताउनुभयो ।


नेपाल दलित मुक्ति मोर्चा गण्डकी प्रदेश फ्याक्सन इन्चार्ज टेकबहादुर विश्वकर्माले संविधानमा दलित र महिलाको हकअधिकार,समावेशीता,समानुपातिक जस्ता अधिकारलाई समावेश गर्न जनयुद्धको ठूलो योगदान रहेको बताउनुभयो । संविधानमा लेखिएका हकअधिकारको व्यवहारिक कार्यान्वयनका लागि माओवादीको झण्डामुनी गोलबन्ध भएर आन्दोलन गर्नुपर्ने उहाँको भनाई थियो ।

भेलामा अनेमसंघ केन्द्रिय सदस्य ज्यति लामिछाने,नेकपा माओवादी गण्डकी प्रदेश सदस्य गौरी सेन्चुरी, दलित मुक्ति मोर्चाको जिल्ला इन्चार्ज पदम किसान, जिल्ला संयोजक पृथलाल विक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

लालबहादुर घतानेको अध्यक्षता, दलबहादुर खड्काथोकीको सञ्चालन र सरु सिर्पालीको स्वागतमा भेला सम्पन्न भएको थियो । जिल्लाको पाँचवटा स्थानीय तहमा दलित मुक्ति मोर्चाको भेला सम्पन्न भइसकेको विकले जानकारी दिनुभयो ।