ठेकेदारले काम छाडेपछि पिप्ले–भगवती सडक कालोपत्रे योजना अलपत्र

विकल्प न्यूज\बेनी
फागुन २६ गते ।


म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जे.भीले बिचैमा काम छाडेपछि योजना अलपत्र परेको हो ।

निर्माण कम्पनीका साझेदारहरुबिच आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि एकसातादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको छ । आयोजनाको थप भएको समयमा समेत काम नगरिकन निर्माण कम्पनीले काम छाडेपछि विहिवार नेकपा (माओवादी केन्द्र) रघुगंगा गाउँपालिकाले सम्बद्ध निकायमा ध्यानकर्षण गराएको छ ।

माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटी अध्यक्ष हरि भण्डारी, वडा नम्बर २ का वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवाल र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम कटुवालको नेतृत्वमा गएको टोलीले पूर्वाधार विकास कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई आयोजनाको बारेमा ध्यानकर्षण गराएका हुन् ।

ध्यानकर्षण पत्र बुझाउँदै माओवादी केन्द्रका रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले कालोपत्रे सडक निर्माण गर्ने योजनालाई निर्माण कम्पनीले अलपत्र पारेपछि सम्बद्ध निकायालाई जानकारी गराउने र कानुन बमोजिम आबश्यक प्रकृया अगाडी बढाउन ध्यानकर्षण गराइएको बताउनुभयो

। योजनालाई अधकल्चो बनाएर छाडेपछि प्रभावित क्षेत्रका स्थानीयमा चिन्ता बढेको भन्दै उहाँले निर्माण कम्पनीलाई तत्काल कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन भूमिका खेल्न प्रशासन र योजना कार्यान्वयन गर्ने कार्यालयलाई आग्रह गरिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले सम्बन्धित कार्यालय र निर्माण कम्पनीसंग आबश्यक सोधपुछ गरि अलपत्र योजनालाई गती दिनका लागि आबश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले कुनैपनि कम्पनीलाई योजनालाई बिचैमा अलपत्र छाडेर हिड्ने छुट नहुने समेत बताउनुभयो । योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले गत जेठमै योजनालाई सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म आधाको हाराहारमिा मात्रै भौतिक प्रगति गरेको छ । अन्तीम पटकका लागि थप भएको समयसिमा समेत सकिन एक महिना मात्रै बाँकी छ ।

गलेश्वरदेखि बगैँचासम्मको पहिलेको ट्याकमा पहिरोले क्षति पु¥याएकाले पहिलो चरणमा पिप्लेदेखि भगवतीसम्मको ५ किलोमिटर सडकलाई कालोपत्रे गर्ने भनिएपनि निर्माण कम्पनीले कार्यक्षेत्र नै छाडेपछि यस क्षेत्रका स्थानीय रुष्ट बनेका छन् ।

सुरुवातमा निर्माण कार्यको जिम्मा लिने रघुगंगा गाउँपालिका–३ का वडा अध्यक्ष समेत रहनुभएका जिवनकुमार मल्ल र मुख्य ठेकेदार रत्न खड्काबिच लेनदेनमा समस्या देखिएपछि आफूहरुले कार्यक्षेत्रकाम काम रोकेर हिड्नुपरेको निर्माण कम्पनीको तर्फबाट परिचालित प्राविधिकहरुको भनाई छ । कम्पनीले कार्यक्षेत्रमा काम गर्ने मजदुरहरुको पारिश्रमिक र सामानको ल्याएको खर्च समेत तिर्न बाँकी छ ।

भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का सम्झौता भएको यस योजनामा ८ किलोमिटर सडकलाई ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गर्नुपर्ने उल्लेख छ । दशकअघि ट्याक खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवत जावतका लागि स्थानीयबासीलाई सास्ती हुँदै आएको छ ।