ठाकुरप्रसाद आचार्य \म्याग्दी
फागुन २० गते ।
लठ्ठीको साहाराले हिडडुल गर्नुहुन्छ । कपाल फुलेर सेतै भएको छ । उमेरले डाडा काटिसकेको छ । तर विचार र हिम्मत भने युवाको भन्दा कम छैन । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटका वडा अध्यक्ष बयासी वर्षीय दिलिप शेरचनको सामाजिक सेवाप्रतिको जोसजाँगर हिम्मत देख्दा सबैजना छक्क पर्ने गर्दछन् । पच्चायतकालमा २० वर्ष निर्विरोध प्रधानपञ्च हुनुभएका शेरचन २०७४ को स्थानीय तह निर्वाचनमा फेरी वडा अध्यक्षमा निर्वाचित हुनुभयो । शेरचन जिल्लाकै जेठो वडा अध्यक्ष हुनुहुन्छ ।
उमेरले डाँडा काटेपनि उहाँमा अझै सामाजिक एवम् राजनीतिक क्षेत्रमा काम गर्ने जोस जागर र उर्जा छ । जिन्दगी नै सामाजिक क्षेत्रमा काम गर्दा वित्यो शेरचनले भन्नुभयो ‘पार्टीले पत्याएर टिकट दिए एकपटक पालिका अध्यक्ष हुने चाहना छ ।’ ‘पार्टीले के गर्दछ थाहा छैन तर मैले पार्टीसँग पालिका अध्यक्षकै टिकट मागेको छु ’उहाँले भन्नुभयो । शेरचन अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडामा विजयी हुनुभएको थियो ।
‘म २२ वर्षको हुँदा २०२२ सालमा पहिलो पटक गाउँको प्रधानपञ्चमा उठेको थिएँ थोरै मतले हारे शेरचनले विगत सम्झीदै भन्नुभयो, ‘२०२४ को गाउँपञ्चायतको निर्वाचनमा फेरी लडे ६ मतले हारे तर मैले हिम्मत हारिन राजनीति र सामाजिक सेवामा निरन्तर लागेँ । २०२६ सालको निर्वाचनमा गाउँलेले मलाई निर्विरोध निर्वाचित गरे ।’ उहाँ २० वर्ष सम्म निरन्तर ओखरबोट गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्विरोध रुपमा प्रधानपञ्च निर्वाचित हुनुभयो । उहाँका अगाडि कोहीले चुनाव लड्ने आँटै गरेनन । उतिबेला सामाजिक काम गर्ने व्यक्तिलाई सम्मान थियो अहिले त्यस्तो अवस्था नभएको उहाँले सुनाउनुभयो ।
२०४६ सालमा बहुदल आएपछि चुनाव लडिँन शेरचनले भन्नुभयो ‘काँग्रेसले चुनाव लड् हामी टिकट दिन्छौ भन्थे म लडिँन । सानै देखि अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउने भएकाले माओवादी पार्टीलाई मैले समर्थन गरे उहाँले भन्नुभयो ‘जनयुद्धमा माओवादीले मलाई पनि राम्रो ठान्थे, मैले पनि सहयोग गरे, अघिल्लो निर्वाचनमा मैले पालिका अध्यक्षकै टिकट मागेको थिएँ तर पार्टीले दिएन ।
वडा अध्यक्षको टिकट दियो जिते पनि ।’ अवको निर्वाचनमा पालिका अध्यक्षमा लड्नुपर्दछ भनेर गाउँलेहरुले पनि भनेका छन् उहाँले भन्नुभयो ‘ वुढेसकाल भएपनि एकपटक पालिका अध्यक्ष भएर जनताको सेवा गर्ने मन छ ।’ शेरचनको नेतृत्वमा गाउँमा खानेपानी,सडक,विजुली,शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो विकास भएको छ । जनताको सेवामा उहाँ रातदिन खटिनुहुन्छ । पालिकाले स्थानीय प्राकृतिक स्रोतसाधनको परिचाल गर्नसक्ने हो भने राम्रो विकास गर्न सकिने अनुभव उहाँको छ ।
शेरचनका दुई छोरा र छोरी छन । एक छोरा बेलायती सेनाबाट पेन्सनमा आएर हाल प्रभु हेलीकप्टरको डाइरेक्टर हुनुहुन्छ । भने अर्को छोरा अष्ट्रियमा र एउटा छोरी अमेरिका अर्को छोरीले काठमाण्डौमा होटल व्यवसाय गर्नुहुन्छ । शेरचनको पोखरा काठमाण्डौंमा घर छन् ।
सहर बजारको सुखसयल भन्दा पनि शेरचनलाई गाउँघरको सेवा गर्न मन छ । आफ्नो जन्मिएको गाउँघरमा वस्न आनन्द लाग्छ शेरचनले भन्नुभयो ‘पोखरा काठमाण्डौं जान मन लाग्दैन ।
अमेरिका भएकी छोरीले बुवा आउनु यतै वस्नुपर्दछ बुढेसकालमा गाउँमा किन एक्लै बस्नुहुन्छ भन्छिन जान मन लाग्दैन आफनै जन्म गाउँको सेवा गर्न मन लाग्छ ।’
पहिला पहिला सामाजिक काम गर्न सजिलो थियो अहिले खुट्टा तान्ने प्रवृत्ति छ उहाँले अनुभव सुनाउनुभयो । पैसा नखाए कामै गर्दैनन् । हाम्रो संस्कार विग्रेको छ । अहिलेको कामकारबाही देख्दा दिक्क लागेर आउँछ उहाँले भन्नुभयो ।