विकल्प न्यूज\बेनी
फागुन २० गते ।
म्याग्दीमा एक जलविद्युत आयोजनामा कार्यरत भारतीय मजदुरबाट एक हजार रुपैयाँको दुई थान नक्कली नोट भेटिएको छ । रघुगंगा गाउँपालिका–३ मा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङमार्गमा काम गर्ने मजदुरबाट संकास्पद नोट फेला परेको हो ।
आयोजनाको अडिट नम्बर ३ मा काम गर्ने एक मजदुरले स्थानीय पसलमा सामान किन्ने क्रममा भेटिएको थियो । करिब दुई साता अगाडी जलविद्युत आयोजनाको पिप्लेबाट सङ्केत नंवर (ज ५५)५७३८६६) र सङ्केत नंवर (ज ५५)५७४०८१) नम्बरको नोट संकास्पद देखिएपछि थप परीक्षण सहित अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।
‘गाउँमा भेटिएको नोट नक्कली देखिएको छ,‘नक्कली नोटको आशंका गरेमा तत्काल खवर गर्नु अनुरोध समेत गर्छु’ प्रनाउ राईले भने । उनले बजारमा नक्कली नोट छ्यापछ्याप्ती नभएपनि संका लागेमा चेकजाँच गर्न अनुरोध गरे । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)को तर्फबाट अडिटमा खटिएका सुपरभाइजर तहका प्रतिनिधिबाट मजदुर हुँदै पसलसम्म उक्त नक्कली नोट पुगेको थियो ।
आयोजनाको सुरुङ निर्माणतर्फ अधिकाँश भारतीय कामदार कार्यरत छन् । सिमा क्षेत्रबाट नक्कली नोट गाउँमा पुगेको हुनसक्ने भन्दै आयोजना पक्षलाई समेत आफ्नो मातहतका मजदुरका बारेमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालयमार्फत निर्देशन गरिएको प्रहरीले जनाएको छ ।
नक्कली नोटका बारेमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट प्रहरीमा नोट सहित पठाइएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले सुरुङ, विद्युतगृहत र पावर हाउस निर्माणका काम गरिरहेको छ । म्याग्दीमा भिडभाड हुने स्थान, पसल, वित्तिय संस्थामा यसअगाडी समेत नक्कली नोट भेटिएको थियो ।
झट्ट हेर्दा उस्तै देखिएपनि नक्कली नोट हेरेर र छामेर चिन्न सकिन्छ । सक्कली नोट नयाँ होस वा पुरानो छाम्दा खस्रो हुन्छ भने नक्कली नोट चिल्लो हुने भएकाले नोट हातमा पर्दा सुरूमा यही कुरा ख्याल गर्नुपर्ने वित्तिय संस्थाका प्रतिनिधिहरुको भनाई छ ।