मंगला गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न

विकल्प न्यूज/बेनी
माघ २१ गते ।

जिल्लाको मंगला गाउँपालिकाको १२ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँसभाले १६ वटा योजनाका लागि थप ३८ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । साथै सभाले पालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गरेका योजना तथा कार्यक्रमको समिक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसभाले संस्था दर्ता सम्बन्धी बिधेयक पारित गरेको छ । विधेक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले चालु आर्थिक बर्ष ०७८÷०७९ को प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको चालुतर्फ २६ करोड ४८ लाख ५५ हजार रुपैयाँ बजेट मध्ये ९ करोड ५० लाख ३० हजार खर्च भएको र पुँजीगतर्फ १६ करोड ८ लाख ४ हजार रुपैयाँ बजेटमध्ये २ करोड १० लाख १० हजार रुपैयाँ बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले बताउनुभयो । गाउँपालिकामा रहेको ४२ करोड ५६ लाखमा कुल बजेटमा २७.२६ प्रतिशत खर्च भएको छ ।

गाउँसभाले विभिन्न समयमा भएको निर्णयहरु अनुमोदन गर्नुका साथै पाँच वटा कानुन पारित गरेको अधिकृत ढुंगानाले बताउनुभयो । संस्था दर्ता ऐन, लेखा समिति संचालन कार्यसमिति ऐन, विद्यायन (कानुन) निर्माण समिति, विषयगत समिति संचालन कार्यसमिति र श्रमिक डेस्क संचालन समिति ऐन निर्माणसंगै कार्यान्वयनको लागि गाउँसभाबाट पारित भएको छ ।

चालु आर्थिक बर्षमा रहेको ११० वटा योजनाहरुमध्ये ५७ वटा योजना कार्यान्वयनका लागि सम्झौता भएको छ भने ४ वटा योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।गाउँसभालाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले योजना कार्यान्वयनलाई प्रभावकारी रुपमा समयमै सम्पन्न गराउन कर्मचारी र वडाका जनप्रतिनिधिहरु सक्रिय हुन आग्रह गर्नुभएको छ ।