बेनीको पुल छेवैमा अतिक्रमित सार्वजनिक जग्गाको छानविन गर्दै अख्तियार

विकल्प न्यूज/बेनी
माघ १८ गते ।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले बेनी नगरपालिका भित्र रहेको सार्वजनिक जग्गा अतिक्रमण भएको उजुरीका आधारमा छानविन थालेको छ ।

बेनी नगरपालिका २ स्थित बेनी – बागलुङ जाने पक्की पुल छेवैमा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा बनाएको उजुरीका आधार अख्तियारले अनुशन्धान तथा छानविन थालेको हो ।

पुल नजिक वस्ने कुलबहादुर जुग्जालीले पुलको मापदण्ड विपरित सार्वजनिक जग्गा कब्जा गरी व्यवसाय सञ्चालन गर्दै आएको भन्दै अख्तियारमा उजुरी परेको हो । बेनी नगरपालिका सँग जुग्जालीले गरेको पाँचवर्षे सम्भौताको म्याद गत वर्षे नै सकिएको थियो ।

नगरपालिकाले सम्झौताको समयअवधि सकिएकाले जग्गा खाली गर्न पटक पटक गरेको पत्राचारलाई समेत जुग्जालीले अटेर गर्दै आउनुभएको बेनी नगरपालिकाका सूचना अधिकारी युबराज थापाले बताउनुभयो ।

पुलसँग जोडी संरचना निर्माण गरेको तथा निर्धारित जग्गा भन्दा बढी बढी जग्गा प्रयोग गरेको विषयमा त्यसो नगर्न नगराउन पटक पटक पत्राचार गरी अनुरोध गर्दा पनि जुग्जालीले अटेर गरेको नगरपालिकाको भनाई छ ।

अख्तियारमा परेको उजुरीका सम्बन्धमा वास्तविक बुझेर प्रतिवेदन बुझाउन जिल्ला प्रशासन कार्यालय म्याग्दीलाई अख्तियारी दिए बमोजिम प्रशासनबाट छानविन तथा अनुशन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत पुष ४ गते बेनी नगरपालिकालाई लेखेको पत्रको व्यहोरा ः

(म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्बर २ साविक ज्यारुककोट ८ मा पर्ने सार्वजनिक जग्गामा वि.स २०४५÷०४६ सालमा वन उपभोक्ता समितिबाट विभिन्न जातका करिब २१०० विरुवाहरु वृक्षारोपण गरी वन संरक्षण गरी आएकोमा वन ऐन तथा नियमावली विपरित बेनी नगरपालिका वडा नम्बर २ डेरा गरी वस्ने वर्ष ४८ को कुलबहादुर जुग्जाली र बेनी नगरपालिका वडा नम्बर ७ डेरा गरी बस्ने वर्ष ५२ को लाल खानले जवरजस्ती कब्जा गरी ब्लकको संरचना निर्माण गरेका कुलबहादुर जुग्जालीले सामुदायिक वनसँग जोडिएको बेनी –बागलुङ जाने पक्की मोटरपुल दायाबाँया पुलमुनी आरन लगाउने र पसल राख्ने कार्य गर्दा पुललाई बाधा पुगेकोमा छानविन गरी दोषी उपर आवश्यक कारबाही लागि अख्तियार दुरुपयोग अनुशन्धान आयोगबाट लेखि आएकाले सो सम्बन्धमा के कसो भएको हो वास्तविक बुझी यथार्थ विवरण यथाशिघ्र उपलब्ध गराइदिनहुन आदेश अनुसार अनुरोध छ ।)

बेनी नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई माघ ३ गते लेखी पठाएको पत्रको प्रतिउत्तर ः

(बेनी नगरपालिका वडा नम्बर २ का कुलबहादुर जुग्जाली र बेनी नगरपालिका विच २०७२/१० /१ म सम्झौता भई व्यवसाय सञ्चालन गरि आएकोमा तोकिए बमोजिमको ५ वर्ष भूक्तान भइसकेको ।

निज कुलबहादुर जुग्जालीले सम्भौता विपरित पुलसँग जोडि संरचना निर्माण गरेको तथा निर्धारित जग्गा भन्दा बढी बढी जग्गा प्रयोग गरेको विषयमा त्यसो नगर्न नगराउन पटक पटक पत्राचार गरी अनुरोध गरिएकोमा सो को बेवास्ता गरी कार्य गरि आएको ।
निज सँग भएको संझौता अवधि सकिएको र सम्भौता विपरित कार्य गरेकाले निजसँग सम्भौता थप नगर्ने निर्णय बमोजिम अवधि थप नभएको र निजलाई जग्गा खाली गराउन ३० दिने सूचना दिइएकोमा सूचना बुझ्न नमानेको र सो को बेवास्ता गरेको अवस्था ।
अतः सम्झौता विपरित कार्य नगर्न नगराउन नगरपालिकाको कार्यालयले आवश्यक पहल गरेको भएतापनि सम्बन्धित व्यत्तिले नै अटेर गरी बसेको र सडक पुलको मापदण्ड विपरित संरचना निर्माण गरेको व्यहोरा अनुरोध छ ।)