विकल्प न्यूज/बेनी
माघ १० गते ।
बेनी नगरपालिका १ रत्नेचौर देखि बागलुङ नगरपालिका – ४ कुँडुले जोड्ने झोलुङ्गे पुलको निर्माण तिव्र पारिएको छ । गत मंसिरबाट पुल निर्माण थालिएको थियो । तोकीएको समय भन्दा अगावै निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाको पहलमा दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण थालिएको हो । पुल निर्माण पछि रत्नेचौरका स्थानीयवासीहरुलाई पुल तरेर कुँडुले हुँदै बागलुङ जान सहज हुने विश्वास गरिएको छ ।
पछिल्लो समय रत्नेचौरको गाउँ तोरीका कारण भाइरल बनेको छ । तोरीमा टिकटक बनाउन र फोटो खिच्न आउने आन्तरिक पर्यटकको निकै भिड लाग्ने गरेको छ । पुल बनेपछि यहाँको पर्यटन विकासमा थप टेवा मिल्ने विश्वास गरिएको बेनी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।
दुबै जिल्लामा उत्पादित बस्तुको बजारीकरणका लागि पनि पुलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने वडा अध्यक्ष रावलले बताउनुभयो । पुलले बागलुङको पञ्चकोट शालग्राम संग्राहालय लगायत बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकिय क्षेत्रमा आवत जावत गर्न सहज हुन उहाँको भनाई छ ।
पुलको कुल लागत ३ करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा ४ कँुडुले निवासी जयलाल सापकोटा, ईन्द्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।
गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भईसक्ने निर्माणको जिम्मा पाएको थानी हिमसिखर जेभीका नरहरी खड्काले बताउनुभयो । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने वडा अध्यक्ष रावलले बताउनुभयो ।