विकल्प न्यूज \ बेनी
माघ ८ गते ।
कोभिडको पहिलो र दोस्रो लहरका विरामीहरुको सेवामा निरन्तर जुटेका म्याग्दीका दुई जना एम्बुलेन्स चालकलाई तेस्रो लहरले भने छाडेन । कोभिड महामारीका समयमा न भोक न तिर्खा नभनी सेवामा खटिएका बेनी अस्पतालका एम्बुलेन्स चालक द्धाय गोपी गौतम र केशर शेरपुञ्जालाई पनि शनिबार कोरोना पुष्टि भएको हो ।
कोरोना महामारीका समयमा अस्पतालले रिफर गरेका विरामीरुलाई पोखरा र काठमाण्डौंका अस्पताल सम्म पु¥याउने काम उहाँहरुले नै गर्नुहुन्थ्यो । साथै गौतम र शेरपुञ्जा जिल्लामा कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको दाहासंस्कारमा समेत नेपाल रेडक्रस सँग मिलेर विगत दुई वर्ष देखि निशुल्क रुपमा खटिनुभएको थियो ।
कोरोनाको पहिलो र दोस्रो महामारीका बेला जोगियो तर यसपटक भने जोगिन सकिएन चालक गौतमले भन्नुभयो, ‘हिजो मलाई कोरोना पोजेटिभ देखियो घरमै आरम गरेर बसेको छु ।
स्वास्थ्य अवस्था सामान्य नै छ । कोरोनाको तेस्रो लहरका संक्रमितहरु बढ्ने क्रम छ, छिटो निको होस् र सेवामा फेरी खटिन पाउँ ।’ बेनी अस्पतालका २७ जना स्वास्थ्यकर्मीहरुमा कोरोना पुष्टि भएपछि अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।