म्याग्दी ३० भदौ ।
नवगठित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) म्याग्दीको अध्यक्षमा कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ ।
बुधवार बेनीमा आयोजित पार्टीको जिल्ला भेलाबाट युवा नेता विश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।
युवा संघको केन्द्रिय राजनीतिमा समेत सक्रिय रहनुभएका विश्वकर्मा बेनी नगर कार्यपालिकाको सदस्य समेत हुनुहुन्छ । त्यसैगरि कमिटीको उपाध्यक्षमा हेमराज शर्मा, सचिबमा दुर्गा कार्की, सहसचिबमा जिवन सापकोटालाई चयन गरिएको छ ।
नेकपा एमाले विभाजन भएपछि म्याग्दीमा तीन जनप्रतिनिधिले एकिकृत समाजवादीमा सनाखत गरेपछि जिल्ला भेला तथा कमिटी गठनको प्रयास थालिएको थियो ।
नवनिर्वाचित अध्यक्ष विश्वकर्माले ६ महिनाभित्र जिल्लामा संगठन निर्माण र विस्तारको अभियान चलाउने कार्यतालिका बनाएको बताउँदै पार्टीलाई छोटो समयमै गतिशिल बनाउन आफु प्रयासरत रहने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले केपी ओलीले एमाले विभाजन संगै कम्युनिष्ट आन्दोलन र प्राप्त उपलब्धीहरु मास्न उद्धत रहेकाले पार्टीको पुनर्गठन गर्नुपरेको बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य चुडामणी जंगलीले पार्टीका नेतामा कुशल नेतृत्व र असल नैतिकता हुनुपर्ने बताउँदै ओलीले नेतामा हुनुपर्ने दुबै गुण नबोकेको कारण पार्टी टुटफुट भएको बताउनुभयो ।
केपी ओलीले एउटै कार्यकालमा पार्टीलाई दुई पटक र जनताको सर्वोच्च निकाय संसदलाई दुई पटक असंवैधानिक तवरले विघटन गरेर राजनैतिक इमान र नैतिकता गुमानुको साथै गम्भिर राजनैतिक अपराध गरेको आरोप लगाउनुभयो ।
‘‘ जनताले झण्डै दुई तिहाई नजिकको जनमत दिँदा समेत ओलीले सम्हाल्न सकेनन्, विदेशी र दलालहरुसंग साँठगाठ गरेर मुलुकलाई अनिश्चिता र अन्यौलतातर्फ थकेले, उनले राजनीतिक जिवनमा गम्भिर अपराध गरेका छन्, सर्वोच्चले समेत पटक पटक गरेका फैसालले ओलीको असली रुप प्रष्टाएको छ’’–उहाँले भन्नुभयो ।
भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश कमिटीका सचिब प्रताबलाल श्रेष्ठले ओलीले मुलुकलाई गम्भिर दुर्घटनातिर लैजान खोजेपनि माधव नेपालको अगुवाईमा नेपालको नयाँ संविधानलाई बचाउने र संसदलाई पुर्नजिविन गर्ने ऐतिहासिक काम भएको बताउनुभयो ।
नेता देउप्रसाद छन्त्यालको अध्यक्षता, कृष्णकुमार विश्वकर्माको स्वागत र रुद्र किसानको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।