विकल्प न्यूज/बेनी
भदौं १९ गते ।
नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ४५ वडा रहेको म्याग्दीमा ४३ वडामा नेतृत्व चयन भएको छ । शुक्रबार भएको वडा अधिबेशनबाट ४३ वडामा नयाँ नेतृत्व चयन भएको काँग्रेसले जनाएको छ । वाँकी २ वडामा केही दिनमा वडा अधिवेशन हुने काँग्रेसले जनाएको छ ।
तीमध्ये ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले मतदान प्रक्रियाबाट बेनी नगरपालिका–५ पुलाचौरमा यामबहादुर बानियाँ र अन्नपूर्ण गाउँपालिका–६ घारमा कृष्णप्रसाद बरुवाल वडा सभापतिमा निर्वाचित भएको जानकारी दिनुभयो ।
‘क्रियाशील सदस्यता नवीकरण गरेकाको नामावली अन्नपूर्ण गाउँपालिका–१ दोबा र ८ राम्चेको अधिवेशन रोकिएको छ’, उहाँले भन्नुभयो, ‘४० वडाको सबै विवरण आएको छ । दोबा र राम्चेको अधिवेशन पनि भदौ २३ गतेभित्र नै गर्न सदस्यता नवीकरणका लागि केन्द्रिय समितिमा पहल गरेका छौँ ।
सात वडा रहेको धवलागिरि गाउँपालिकाको गुर्जामा केआइसिंह छन्त्याल, लुलाङमा ज्ञानबहादुर पाइजा, मुनामा जङ्गबहादुर भण्डारी, मुदीमा योगेन्द्र घर्ती, मल्कवाङमा अमर छन्त्याल, मराङमा योगेन्द्र गुरुङ र ताकममा थमबहादुर पुन वडा एकाइ सभापतिमा चयन हुनुभएको काँग्रेसको पालिका सभापति प्रेम पुनले जानकारी दिनुभयो ।
प्रदेशसभा क्षेत्र (ख) म्याग्दीका उपसभापति मेक पुनका अनुसार मङ्गलाका पाँच वटा वडामा पनि सर्वसम्मत कार्यसमिति चयन भएको छ । कुहुँमा रामबहादुर खत्री, बाबियाचौरमा श्रीभद्र शर्मा, बरंजाको ३ मा टेकबहादुर छन्त्याल, ४ मा लालबहादुर रोका र अर्मनमा तुलसीराम कँडेल सभापतिमा चयन भएका छन् ।
मालिकाको निस्कोटमा भबहादुर पुन, रुममा चन्द्रबहादुर पुन, डाँडागाउँमा हरिप्रकाश पुन, ओखरबोटमा तमबहादुर पुन, देविस्थानमा भकबहादुर घर्ती, दरबाङमा गोपाल गौतम र बीममा टुकमान गर्बुजा वडा सभापति चयन भएका छन् ।
वडा नं ८ मा रहेको रघुगङ्गा गाउँपालिकाको बेगमा सूर्य गर्बुजा, भगवतिमा राजकुमार भण्डारी, पिप्लेमा अशोककुमार शाही, दग्नाममा कृष्ण गर्बुजा र चिमखोलामा प्रदीप पाइजा वडा सभापति चयन भएका छन् । झिँ, पाखापानीमा र कुइनेमङ्गलेमा सहमतिमा नेतृत्व चयन गर्ने पहिलेको सहमति भए पनि विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले विवरण प्राप्त नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानीमा रेखिराम पुर्जा, दानामा सुरत केसी, नारच्याङमा समप्रसाद पुर्जा, शिखमा अर्जुन चोचाङ्गी, घारमा कृष्णप्रसाद बरुवाल र हिस्तानमा खुमबहादुर पुर्जा वडा सभापतिमा चयन भएका छन् ।
बेनी नगरपालिकाको रत्नेचौरमा कोमल थापा, ज्यामरुककोतमा यामबहादुर कार्की, भकिम्लीमा जसबहादुर पुन, सिङ्गामा सुमन बानियाँ, अर्थुङ्गेमा जीवन पौडेल, बेनी– ७ मा रमेशकुमार श्रेष्ठ, ८ मा हिमबहादुर भण्डारी, घतानमा सुवर्ण खत्री र पात्लेखेतमा शिवबहादुर शाही सभापतिमा चयन भएका छन् । नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले आन्तरिक एकतालाई बलियो बनाउन छलफल र सहमति गरेर वडा तहमा सर्वसम्मत नेतृत्व चयन भएको बताउनुभयो । रासस