गण्डकी प्रदेशमा जलविद्युत्, कृषि र पर्यटनको उच्च सम्भावना

काठमाडौँ, साउन २९ गते ।

 

 गण्डकी प्रदेशमा जलविद्युत् आयोजना, कृषि र पर्यटन सम्भावना उच्च रहेको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको एक अध्ययनअनुसार ससाना आयोजनादेखि १२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा रहेको गण्डकी प्रदेशमा जलविद्युत् उत्पादनको उच्च सम्भावना देखिएको हो ।

नेपाल राष्ट्र बैङ्क पोखरा कार्यालय अनुसन्धान एकाइद्वारा प्रकाशित आर्थिक वर्ष २०७७/७८ मा आधारित गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रथम अर्धवार्षिक प्रतिवेदनमा अन्य धेरै आयोजना निर्माणाधीन रहेको सो क्षेत्रमा सप्तगण्डकीका सहायक नदीमा अन्य जलविद्युत् आयोजना सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख छ ।
पर्यटन क्षेत्र आर्थिक मेरुदण्ड रहँदै आएको सो क्षेत्रमा पर्यटकीय पूर्वाधार र केबलकारको उच्च सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

उत्तर–दक्षिण लोकमार्गका रूपमा रहेको कालीगण्डकी करिडोरले गण्डकी प्रदेशलाई उत्तरमा कोरला नाकामार्फत चीनसँग र दक्षिणमा त्रिवेणी नाकामार्फत भारतसँग अन्तर्राष्ट्रिय व्यापारको ढोका खोलिदिने भएकाले यसको निर्माण सम्पन्न भएपछि सो प्रदेशको वैदेशिक व्यापारमा ठूलो टेवा पुग्ने सम्भावना रहेको छ ।

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डलाई चार लेनमा स्तरोन्नति गर्न एसियाली विकास बैङ्कसँग ऋण सम्झौताअनुुसार कार्य सम्पन्न भएपछि सो क्षेत्रको समग्र विकासमा थप सहयोग पुग्ने अध्ययनले देखाएको छ ।

गण्डकी प्रदेशमा निर्माणाधीन राष्ट्रिय गौरव तथा अन्य परियोजनाको भौतिक प्रगति समीक्षा अवधिमा उल्लेख्य देखिएको र रोजगारीमा पनि बढोत्तरी हुने देखिएको हुँदा तोकिएको समयमा सम्पन्न गर्न सकेको खण्डमा राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको जनाइएको छ ।

सडक, सिँचाइ, खानेपानी र सञ्चारलगायतका पूर्वाधार निर्माणसम्बन्धी कार्यहरूमा विभिन्न सरोकारवाला निकायबीच आपसी समन्वयको अभावमा निर्माण खर्चमा दोहोरोपना आउने गरेको तथा व्यवस्थित अभिलेखसमेत नरहने हुँदा मितव्ययिता अपनाउने कार्यमा चुनौती सिर्जना भएको अध्ययनमा उल्लेख छ ।

पूर्वाधार क्षेत्रका आयोजना निर्माणको क्रममा घरजग्गा मुआब्जासम्बन्धी विवादको शीघ्र समाधान र स्थानीय बासिन्दाबाट हुने विभिन्न किसिमका मागको सम्बोधन गर्न विलम्ब हुने कारणले आयोजना समयमै सम्पन्न हुन नसक्ने तथा लागतमा वृद्धि हुने चुनौती रहेको देखिएको छ ।  आजको गोरखापत्र दैनिकमा समाचार छ