ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
साउन २५ गते ।
म्याग्दीमा निर्माणधिन बेनी अस्पतालको भवन निर्माण व्यवसायीका कारण अलपत्र परेको छ । पछिल्लो एकवर्ष यता निर्माण स्थलमा स्रोतसाधन र मजदुर परिचालन गरिएको छैन । भवन निर्माणको जिम्मा लिएका ठेकेदारहरु सम्पर्कविहिन भएका छन् । ठेकेदारहरुको लापरबाहीका कारण भवन अलपत्र अवस्थामा छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा भएको यो लापरबाहीलाई जिल्लाका सरोकारवालाहरुले टुलुटुलु हेरिरहेका छन् । राजनीतिक दल,जनप्रतिनिधि र सरोकारवाला पक्षहरु चिरनिद्रामा छन् ।
सुविधासम्पन्न भवन बनाउनका लागि पाँच वर्ष अगाडि निर्माण थालिएको थियो । सम्झौता अनुसार ठेकेदारले निर्माण कार्य नगरेका कारण अस्पताल भवन अलपत्र परेको हो । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा योजना अलपत्र पर्नु चरम लापरबाही भएको म्याग्दीवासीहरु बताउँछन् । विकास योजनाहरु अलपत्र पर्नु,समयमा नसकिनु र गुणस्तरहिन हुनु यो म्याग्दीको संस्कार जस्तै भएको छ ।
तत्कालिन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ५० शैयाको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती गल्वा–रफिना जेभी सँग १८ करोड ८४ लाख ८ हजार ८९ रुपियाँ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार निर्माण कम्पनीले विसं २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने हो । १५ शैयाका अस्पताललाई ५० शैयाको अस्पतालमा स्तरोन्नती गरेसँगै चार तले तीनवटा भवन निर्माणको थालिएको थियो ।
निर्माण क्षेत्रमा परिचालन नभएपनि विभिन्न वहाना बनाएर पहुँच र शक्तिका भरमा निर्माण व्यवसायीले योजनाको म्याद थप्दै आएका छन् ।
महादेव खिम्तीका सञ्चालक रवी शिंह निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हुनुहुन्छ भने गल्वा कन्ट्रक्सनका सञ्चालक नरहरी थपलिया उपमहासचिव हुनुहुन्छ । यस्तै रफिना कन्ट्रक्सनका सञ्चालक रविन जोशी पनि केन्द्रमा पहुँचवाला व्यक्ति हुनुहुन्छ । तिनैजना व्यवसायीहरु शक्तिशाली छन् ।
‘म्याद थपका लागि फेरी निवेदन आइसकेको छ, एकवर्ष देखि निर्माण कम्पनि सम्पर्कमा आएको छैन । पछिल्लोपटक थपिएको म्याद २०७८ जेठ २० मा सकिएको छ । थपिएको म्यादमा पनि निर्माणको कुनै काम अगाडि बढ्न सकेन सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका इन्जिनियर विरवल सुनारले भन्नुभयो, ‘फेरी म्याद थप्नुपर्ने बाध्यता कार्यालयलाई छ । म्याद नथपे माथि देखि नेताको फोन आउँछ ।’
अहिले सम्म भवनको ५० प्रतिशत भौतिक प्रगती भएको उहाँले बताउनुभयो । यही अवस्था रहेमा भवन सम्पन्न गर्न अझै पाँचवर्ष लाग्ने उहाँले बताउनुभयो ।
निर्माणको काम सन्तोषजनक नभएपछि कार्यालयले व्यवसायीलाई काम अगाडि बढाउन पटक पटक गरी ७ पटकसम्म पत्र काटेको उहाँले बताउनुभयो । कोभिड महामारीको कारण देखाउँदै व्यवसायीले ठेक्काको म्याद थप्ने गरेका छन् उहाँले भन्नुभयो,‘खरिद ऐन अनुसार अव १ वर्ष भन्दा बढी म्याद थप गर्न पाइदैन । यो अवधिमा योजना सम्पन्न नभए ठेक्का सम्झौता तोडिन्छ ।’ विभिन्न मितिमा गरेर निर्माण व्यवसायीले करिब ९ करोड रुपियाँ भुक्तानी लगिसकेको कार्यालयले जनाएको छ ।
ठेकेदारले समयमा भवन नबनाउदा सेवा प्रवाह प्रभावित बनेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । पुराना र अस्थायी संरचनाबाट सेवा प्रवाह गर्न समस्या भएको उहाँले बताउनुभयो । कोरोना महामारीका समयमा अस्पताललाई बेड व्यवस्थापन गर्न कठिन भएको उहाँले बताउनुभयो । एकवर्ष देखि निर्माण व्यवसायीले निर्माणको कुनै पनि काम नगरेको उहाँको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयले भवन निर्माण सुस्त भएको भन्दै सम्बन्धित पक्षलाई पत्र लेखेको छ । प्रशासनले २०७७ चैत १७ गते सघन सहरी तथा भवन निर्माण आयोजनालाई भवनको काम सन्तोषजनक नभएको भन्दै ठेकेदारलाई परिचालन गराउन पत्र काटेको थियो ।
पत्रमा अनुगमनका क्रममा निर्माण व्यवसायीले स्रोत साधन,सामाग्री,तत्परता र उत्साह प्रदर्शन गरेको देखिएन, ‘भवन यथा समयमा निर्माण भइनसकेका कारण अस्पतालका विरामीहरुको सेवामा प्रतिकुल असर परेको देखिएकाले अविलम्ब निर्माण सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई खटनपटन एवं परिचालन गर्न भनिएको छ ।’ तर पत्र काटेको चार महिना वितिसक्दा पनि ठेकेदार कार्यस्थलमा परिचालन भएको छैन ।
सरोकारवाला निकायहरु लाचार सावित
विकास निर्माण आयोजनाहरु अलपत्र पर्नु र समयमा काम सम्पन्न नहुनु म्याग्दीको विकासमा देखिएको प्रमुख समस्या हुन । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको विकासमा समेत यस्तो चरम लापरबाही हुँदा जिल्लामा क्रियाशिल राजनीतिक दल,सांसद तथा अन्य सरोकारवाला पक्षहरु चु सम्म बोल्न सक्दैनन् ।
जिल्लाबाट प्रदेश र संघीय सरकारमा मन्त्री समेत भए । तर भवन अलपत्र परेको र ठेकेदारले काम नगरेको कुरा न क्याविनेटमा उठ्यो नत संसदमा । यो विषयमा प्रतिनिधिसभाका सांसद पनि लाचार सावित भए ।
सांसदले यो अवधिमा कहि कतै बेनी अस्पतालको भवनका विषयमा बोलेको कुरा सायद म्याग्दीवासीहरुलाई जानकारी छैन होला । जनप्रतिनिधिले त कुरा उठाएनन् जिल्ला स्थित राजनीतिक दलका नेताहरुको नजरमा पनि यो अलपत्र भवन कहिल्यै परेन ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले सघन सहरी तथा भवन निर्माण आयोजनालाई लेखेको पत्र
विभिन्न मितिमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले ठेकेदारलाई काटेको पत्रहरु । कार्यालयले ठेकेदारलाई ७ पटक सम्म लिखित पत्र काटेको छ ।