विकल्प न्यूज/बेनी
साउन २२ गते ।
यहाँको एक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना बालबच्चाहरुलाई निजी बोर्डिङ स्कुलबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरी शैक्षिक सुधारको प्रयास थालेका छन् । बेनी नगरपालिका १ रत्नेचौर स्थित भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिले अभिभावकहरुमा विद्यालयप्रतिको विश्वास जगाउन यस्तो प्रयास थालेको हो ।
शिक्षक,व्यवस्थापन समितिका सदस्य र गाउँका टाठाबाठाहरुले नै सामुदायिक विद्यालयप्रति विश्वास नगरेर बालबच्चाहरुलाई निजी बोर्डिङ स्कुलमा पढाउँदा सर्वसाधरणहरुमा विद्यालयप्रतिको विश्वासमा कमि आएकाले यो अभियान सञ्चालन गर्नुपरेको प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो । पहिलो चरणमा व्यवस्थापन समितिका,शिक्षकबाट सुरुवात गरिएको र आगमी दिनमा जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि लगायतका सामाजिक व्यक्तित्वहरुमा यो अभियान लैजाने उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किदै जानथालेका कारण विद्यार्थीहरु बागलुङ र बेनीका निजी स्कुलहरुमा पुग्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या घटन थालेको थियो । सामुदायिक विद्यालयमा विद्यार्थीहरुलाई आकर्षीत गरि भर्नादर बढाउन विद्यालयले यस्तो अभियानको सुरुवात गरेको व्यवस्थापन समितिका अध्यक्ष श्याम रोकाले बताउनुभयो । विद्यायले शैक्षिक सुधार, आधुनिक शिक्षण शिकाइको पहुँच विस्तार संगै विद्यालयका शिक्षक कर्मचारी र व्यवस्थापन समितिका परिवारका बालबालिकालाई सामुदायिक विद्यालयमै पठनपाठन गराउने अभियान थालिएको अध्यक्ष रोकाले बताउनुभयो ।
दैनिक रुपमा छिमेकी जिल्ला बागलुङका नीजि शैक्षिक संस्थाहरुबाट आधा दर्जन बढी गाडीहरु विद्यार्थी लैजान आउने गरेको अबस्थालाई मध्यनजर गर्दै सामुदायिक विद्यालयको शिक्षाप्रति नै विश्वास दिलाएर विद्यार्थीहरुलाई स्थानीय विद्यालयमै पठनपाठन गराउनतर्फ प्रेरित गर्न अभियान सञ्चालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोकाले बताउनुभयो ।
सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न कम्युटर शिक्षा सहित आधारभुत तहको ५ कक्षा सम्म अंग्रेजी माध्ययमबाट पठनपाठनको सुरुवात गरिएको उहाँले बताउनुभयो । ‘‘गाउँका करिब १ सय जना बालबालिकाहरु नीजि विद्यालमा अध्ययनका लागि छिमेकी जिल्ला बागलुङ जाने गरेका छन् ,अंग्रेजी माध्ययमकै कारण विद्यार्थीहरु गाउँ छाडेर अन्यत्र जान नपरोस भन्ने उदेश्यले आधारभुत तहलाई आग्रेजी माध्ययममा पठनपाठनको व्यवस्था गरिएको हो’’–प्रअ खत्रीले भन्नुभयो ।
विद्यालयको गुणस्तर सुधारको अधिक प्रयास भएको र भौतिक पूर्वाधारको अभाब प्रमुख समस्याको रुपमा रहेको उहाँले बताउनुभयो । ‘‘हामी हाम्रा बालबालिकालाई भर्ना गरेर अभिभावकलाई पनि यहिँ भर्ना गर्नुस भनेर गएका छौँ, विद्यालयमा व्यवस्थापन, शिक्षक कर्मचारी, अभिभावक लगायतको तालमेल मिल्न सक्यो भने विद्यालयको शैक्षिक गुणस्तर सुधारको जमर्कोले सार्थकता पाउने विश्वास लिएका छौँ ’’–अध्यक्ष रोकाले भन्नुभयो ।
विद्यालयले लकडाउनको समयमा अभिभावकहरुलाई न्यू मिडियाको माध्ययमबाट सम्पर्क गर्ने, विद्यालयको आन्तरिक सुधारका कार्यहरुलाई तिब्रताका साथ अघि बढाएको विद्यालयका सहायक प्रअ एकेन्द्र महतले बताउनुभयो । शैक्षिक क्यालेन्डर नै तयार गरिएको छ भने भर्ना अभियानलाई समेत सोहि बमोजिम सञ्चालन गरिएको उहाँको भनाई छ ।
शिक्षक र व्यवस्थापन समितिले भानु माविको शैक्षिक सुधारको प्रयास थालेको उदाहरणीय भएको बताउँदै विद्यालयको भौतिक पूर्वाधार निर्माणमा वडा कार्यालयले सम्बन्धित निकायमा पहल थालेको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।