शिख र पिप्लेका कृषकलाई बाख्रा पाल्न अनुदान

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ चैत ।
म्याग्दीको शिख र पिप्लेका एक सय जना कृषकहरुलाई आईतबार बाखापालनका लागि करिब एघार लाख रुपैयाँ अनुदान रकम वितरण गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालयले बाख्रा पैचो कार्यक्रम अन्तरगत शिख ९ गिवाङको प्रगतिशिल तथा पिप्ले ८ र ९ को मौवाफाँट बाख्रापालन समितिका पदाधीकारी मार्फत अनुदान उपलब्ध गराएको हो । भुरुङ तातोपानीको ठूलोबगरमा आयोजित एक कार्यक्रममा हिस्तान ९ को दोसल्ले बाख्रापालन समितिले प्रगतिशिल र दानाको सिरानथान बाख्रापालन समितिले पिप्लेको मौवाफाँट कृषक समितिलाई बाख्रा पाल्नका लागि नगद हस्तान्तरण गरेका हुन् ।
दोसल्ले र दानाका कृषकहरुले दुई वर्षअघि पैचो पाएको बाख्रा वापतको सात हजार पाँच सय रुपैया पशु सेवा कार्यालय मार्फत फिर्ता गरि गिवाङ र मौवाफाँटका कृषक समितिलाई हस्तान्तरण गरेका हुन् । दुई वटै समितिमा ५०५० जना कृषकहरु आवद्ध छन् । पशु सेवा कार्यालयले बाख्राको खोर निर्माण तथा सुधारका लागि प्रतिकृषक दुई हजार पाँच सय रुपैयाँका दरले थप अनुदान उपलब्ध गराएको छ ।

अनुदान पाउने एक जना कृषकले आफूले लगानी थप गरेर कम्तीमा तिन वटा बाख्रा पाल्नुपर्नेछ । दुई वटा समितिलाई बाख्राको नश्ल सुधारका लागि उन्नत जातको बोका खरिद गर्न ४०४० हजार रुपैयाँ पनि उपलब्ध गराइएको छ । बाख्रा पैचो कार्यक्रम लागु भएको समितिमा आवद्ध कृषकहरुलाई आहाराका लागि घाँसको विउ, बिरुवा वितरण, परजिवी नियन्त्रण, खोप र प्राबिधिक तालीमको पनि सुबिधा दिइने पशु सेवा कार्यालयले जनाएको छ । DSC01833
एउटा समितिले अर्को समितिलाई बाख्रा हस्तान्तरण गर्ने चलन रहेपनि रोगी, कमजोर पैचो दिने तथा एक ठाउँको बाख्रा अर्को ठाउँमा लैजादा हावापानी नमिल्ने, रोगको सक्रमण हुने समस्या देखिएपछि नगद फिर्ता गर्ने ब्यवस्था मिलाएको पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले बताउनुभयो । बाख्रा पैचो कार्यक्रम अन्तरगत पाएको नगद दुई वर्षपछि अर्को समितिका कृषकलाई फिर्ता गर्नुपर्ने नियम छ ।

बाख्रा पैचो हस्तान्तरण कार्यक्रममा बोल्दै म्याग्दीका सहायक प्रजिअ यादवनाथ आचार्यले आयआर्जन वृद्धी र जिवनस्तर सुधारका लागि बाख्रापालन उपयोगी ब्यवसाय भएको बताउनुभयो । कार्यक्रममा ईलाका वन कार्यालय भुरुङ तातोपानीका सहायक वन अधिकृत युवराज पोख्रेल, रुप्से बृहत्तर कृषि सहकारीका अध्यक्ष बुद्धी पुन, कृषकहरु दानाका कृष्णकुमारी नेपाली, मौवाफाँटकी यामकुमारी गर्बुजा, हिस्तानका मिलन गर्बुजा, गिवाङका पूर्णबहादुर पाईजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक दयाराम चापागाईको अध्यक्षता, पसु सेवा प्राबिधिक डिल्लीराम रेग्मीको सञ्चालन र घार पसु सेवा केन्द्रका प्राबिधिक यामलाल पोख्रेलको स्वागत मन्तब्यमा बाखा पैचो हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।