बेनी अस्पतालमा पहिलोपटक इन्डोस्कोपी सेवा सञ्चालनको तयारी

विकल्प न्यूज/बेनी
असार १८ गते ।

 म्याग्दीको सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी गरिएको छ । एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपियाँ बजेटबाट उपकरण गरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । यो सेवा म्याग्दीका लागि अतिनै आवश्यक हो उहाँले भन्नुभयो,‘सेवा सञ्चालनमा आएपछि धेरै विरामीहरुले राहत महशुष गर्ने छन् ।’

विघटित प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाको पहलमा धौलागिरि गाउँपालिकालाई विनियोजन गरेको उक्त बजेट गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिद गर्न सहयोग गरेको उहाँले बताउनुभयो ।

अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले बताउनुभयो । सवै उपकरणहरु आइपुगेका छन् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भन्नुभयो, ‘एकहप्ता भित्र सेवा सञ्चालनको तयारी गरेका छौं । यो बेनी अस्पतालको नयाँ सेवा हो ।’इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो ।

आमासयसम्बन्धी ताथा सानो आन्द्रको पहिलो भागमा रहेको रोग पहिचान गर्न इन्डोस्कोपीले सहयोग आवश्यक हुन्छ । एक्सरे र भिडियो एक्सरेबाट पहिचान हुन नसकेमा इन्डोस्कोपी गरेर पहिचान गर्ने गरिन्छ । यस प्रविधिबाट अल्सर, क्यान्सर भएको समेत सहजै थाहा पाउन सकिन्छ ।

खाना निल्न गाह्रो हुने, बान्ता हुने, मुखबाट रगत आउने भएमा समस्या पहिचान गर्न यो प्रविधि बढी उपयोगी हुने अध्यक्ष कटुवालले बताउनुभयो ।