विरुवा उपलब्ध गराउने बाहनामा जलजलाका किसानबाट जथाभवी पैसा संकलन

विकल्प न्यूज/जलजला
चैत ६ गते ।


पर्वतको जलजला गाउँपालिकाका किसानलाई विरुवा बेच्ने बहानामा एक कम्पनीले ठगी गरेको आरोप लागेको छ । चितवनको भरतपुरमा कार्यालय रहेको धनलक्ष्मी बायोटेक्नोलोजो प्रालिका प्रतिनिधिहरुले विरुवा उपलब्ध गराउने बाहनामा किसानबाट जथाभावी पैसा उठाएका हुन् ।

३ महिना अघिदेखि पर्वतको धाइरिङ, नाग्लीबाङ, फट्केढुंगा, बेनी नगरपालिकाको सारेमारे क्षेत्रका किसानबाट पैसा संकलन गरिरहे पनि अहिलेसम्म विरुवा उपलब्ध नगराएको आरोप कम्पनीमाथि लागेको छ ।

फागुनमा घर घरमा विरुवा ल्याएर बाँड्ने भनेका उनीहरुले ५र६ जनाको दरले किसानलाई समूहमा आवद्ध गराएका छन् । कम्पनी प्रतिनिधिले प्रति सदस्य एक हजारदेखि ७ हजार रुपैयाँसम्म पैसा उठाएका छन् ।

उनीहरुले उपलब्ध गराउने भनेको सुन्तला, केरा, कागती जातका विरुवाको मूल्य बजार भाउभन्दा धेरै गुणा बढी भएको समेत खुलेको छ ।
महँगो मूल्य तोकिएको र भनेको समयमा विरुवा ल्याउन नसकेपछि किसानहरु आफूहरु ठगिएको भन्दै गुनासो गर्न थालेको जलजला गाउँपालिका–७ धाइरिङका वडाध्यक्ष टुङनाथ शर्माले बताए । ठगी नियन्त्रण गर्न गाउँपालिका र कृषि ज्ञान केन्द्रलाई जानकारी गराउने उनले बताए ।

विरुवा ल्याएर किसानलाई उपलब्ध गराउन नसकेपनि कम्पनी प्रतिनिधिले टोल टोलमा पुगेर आश्वासन बाँड्दै पैसा उठाउन भने छाडेका छैनन् । पीडित किसानका अनुसार कम्पनी प्रतिनिधि उनीहरुबाट करिब १० लाख रुपैयाँ संकलन गरिसकेका छन् ।
कृषि ज्ञान केन्द्र र गाउँपालिकाले तोकेको जिल्ला दर रेटभन्दा बढी मुल्यमा अर्डर लिई पैसा लगेर विरुवा नल्याएको जलजला गाउँपालिका–७ धाइरिङका एक किसानले बताए । ‘छोटो समयमै धेरै उत्पादन र आम्दानी गर्न सकिने भ्रममा पारेर पैसा उठाएका छन्,’ उनले भने ‘एउटै केराको विरुवाको मूल्य २१ सय रुपैयाँसम्म तोकेका छन् ।’

गाउँलेलाई रोजगारीसमेत दिने प्रलोभनमा पारेर प्रतिबन्धित नेटवर्किङ शैलीमा समूह बनाउने र पैसा उठाउने गरेका छन् । विरुवाको दर रेटबिनाको रसिद बुझाई पैसा असुली गरेका छन् । किसानले ‘म विरुवा लगाउँदिन पैसा फिर्ता दिनू’ भन्दै माग्न जाँदा तपार्इंको पैसा फिर्ता हुँदैन, कि सामान लैजानु कि पैसा फिर्ता आउँदैन भन्ने जवाफ पाउन थालेको पीडितको गुनासो छ ।

‘मलाई केही थाहा भएन, १५ हजारको अर्डर बनाइदिनु भा’को रहेछ, २ हजार लैजानुभयो । १३ हजार दिन बाँकी छ । त्यो पैसा कसरी तिर्ने रु २ हजार माग्दा दिँदैनन् । घरमा चामल छैन । त्यो २ हजार दिए चामल किन्न हुन्थ्यो । पैसा फिर्ता हुदैन भन्दै जवाफ दिए,’ एक किसानले नाम उल्लेख नगर्ने सर्तमा भने ।

कम्पनीका व्यवस्थापक डम्बर कार्कीले आफू ड्युटीभन्दा बाहिर भएको भन्दै जवाफ दिन चाहेनन् । ‘सरकारी निकायमा दर्ता भएको र जलजला गाउँपालिकाबाट अनमति लिएको कम्पनी हो,’ उनले भने ‘सबै कुरा उतै गएर बुझ्नु । मैले धेरै कुरा बताउन मिल्दैन् ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बढी मूल्य लिएर प्रतिबन्धित नेटवर्किङ शैलीमा विरुवा बेच्न कसैलाई अनुमति नदिएको बताए । ‘कुनै पनि व्यवसायीले दर्ता गरेपछि देशभर आफ्नो व्यापार गर्न पाउँछ तर जर्बजस्ती चर्को मूल्यमा बिक्री गर्नु सरासर ठगी हो,’ उनले भने ।

गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु गौतमले किसानलाई सरकारी जिल्ला दररेटभन्दा बढी मुल्यमा सामान बेच्नु गलत र ठगी भएको बताए । ‘भूगोल र वातावरण अनुकुल विरुवा लगाउनुपर्छ,’ उनले भने ‘किसानलाई आवश्यक परेमा गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रले अनुदानमा विरुवा उपलब्ध गराउँछ । महँगोमा किन्नुपर्दैन ।’ साजन परियार