कालिगण्डकी शिलामा भगवानको नाम

 जेठ ६ गते ।

कालि गण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला बचाउन नदिका शिलाको नामाङ्कन सुरु गरिएको छ । आईतबार मोहिनी एकादशीको अवसर पारेर शालग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो । 

“स्थानीय तहहरुले पवित्र नदी कालि गण्डकीमा रहेको शालिग्रामको चोरी निकासी र दोहन रोक्नुपर्ने हो,” अभियानकर्मी यज्ञ बहादुर थापाले भन्नुभयो, “स्थानीय तहका साथै समन्वय समिति र प्रदेश समेत यसको संरक्षण नगरेपछि नागरिकस्तरबाट अभियान चलाइएको हो ।”

अभियानका लागि गाउँ गाउँबाट विभिन्न घाटहरुका भजन किर्तन सहित हिन्दु धर्मावलम्बीहरु भेला भएर शिलाहरुमा भगवानको नाम लेखेका थिए । प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको मालढुंगासम्म र कुश्मा नगर समितिले धार्मिक एवम् पर्यटकीयस्थल मोदीबेणी धामसम्म रहेका सबैखाले शालिग्राम शिलामा भगवानको नाम लेखेका जलजला गाउँपालिका सचिव हरेम बहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँले कालि गण्डकी नदी र शालिग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्न समितिले अभियान थालेको बताउनुभयो ।

हिन्दुहरुका साथै बौद्ध धर्मका धर्मावलम्बीहरुले कालि गण्डकीलाई भगवानको रुपमा पूजा गर्ने र यहाँका हरेक ढुंगाहरुलाई शिला भगवानको रुपमा पुजा गर्ने भएकाले यसलाई बचाउन सकेमा धर्मावलम्बीहरुको आस्थाको केन्द्र बन्न सक्ने बताउनुभयो । यहाँका साना, ठूला, चक्राङ्कित र निष्चक्राङ्कित सबै शिलाको संरक्षणका लागि यो अभियान थालिएको र नामाकरणपछि चोरी, निकासी वा उत्खनन् गरेमा पनि खोजी गर्न सहज हुने उहाँको भनाइ छ । कालिगण्डकी नदी धार्मिक नदि भएकाले उत्खनन् नगर्न नगराउन सर्वोच्च अदालतले समेत आन्तरिम आदेश दिएकाले स्थानीय तहहरुले राजश्व उठाएका छैनन् । तर, अवैध रुपमा कालीगण्डकीको दैनिक दोहन भने भईरहेको उहाँको भनाइ छ।

बहुमूल्य र धार्मिकरुपमा महत्वपुर्ण मानिने शालग्राम शिला ढुङ्गा, गिट्टी र चोकरको रुपमा प्रयोग भइरहेको हुँदा दोहन तत्काल रोक्नुपर्ने अभियानका संयोजक थापाले बताउनुभयो। हिन्दू धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालिगण्डकीलाई पवित्र नदी मानिन्छ । त्यसमा पनि नदी किनारमा ऋषिहरू पुलह, पुलत्स्य, कपिल र जडभरतले तपस्या गरी सिद्धीप्राप्त गरेको पौराणिक मान्यता भएकाले यहाँको शिला धार्मिक हिसावले महत्वपूर्ण मानिएको पण्डित लोकनाथ आचार्यको भनाइ छ ।

कालि गण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका शिलाबाट मूर्ति बनाउन र दैनिक घरमा पुजन गर्दा राम्रो हुने विश्वास गरिएको छ । शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विष्णुको अवतारका रुपमा समेत पुज्ने गर्दछन् । हरेक घरमा पाँचवटा शालग्राम शिला राखेमा उक्त घर पवित्र मानिन्छ ।

हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो ।

यो नदीबाट मूर्ति निर्माण तथा शिला पुजनका लागि स्वदेशमा मात्रै होइन विदेशमासमेत शिला लैजाने क्रम बढ्दै गएको छ ।