सत्ताको भागबण्डा नमिलेका कारण कम्युनिष्टमा विघटन आयो ः नेता पौडेल

ठाकुरप्रसाद आचार्य / म्याग्दी
चैत १ गते ।

 नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले सत्ताका लागि मरिहत्ते गर्न नहुने बताउनुभएको छ । लोकतन्त्र र प्रजातन्त्रका लागि लडेको काँग्रेसको पहिलो प्राथमिकता भनेको सत्ता नभएर संविधान र व्यवस्था बचाउनु भएको उहाँले बताउनुभयो । सत्ताका लागि मरिहत्ते गर्ने होइन उहाँले भन्नुभयो ‘संविधान र व्यवस्था बचाउने काँग्रेसको पहिलो काम हो ।’ कम्युनिष्ट पार्टीमा आएको विघटनका कारण मुलुकमा नयाँ परिस्थिति निम्तिएको नेता पौडेलको भनाई थियो ।

नेपाली काँग्रेस म्याग्दीका पुर्व सभापति स्व. डा. भूपेन्द्रबहादुर खड्काको स्मृतिमा बेनीमा आयोजित श्रद्धाञ्जली सभामा नेता पौडेलले काँग्रेसको ढुलमुले नीतिका कारण अवसर गुमाएको बताउनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै नेता पौडेलले काँग्रेसको नीति,कार्यनीति र रणनीति प्रष्ट भएपनि नेतृत्वको ढुलमुले चरित्रका कारण काँग्रेस कम्युनिष्ट भन्दा पछाडी परेको नेता पौडेलले बताउनुभयो ।

‘‘नयाँ राजनीतिक परिस्थितिमा काँग्रेसले ढुलमुल नीति लिने अवस्था छैन । खास कुरा गर्नुपर्दछ । खम्विर कुरा गर्नुपर्दछ । काँग्रेस भनेको प्रष्ट कुरा गर्दछ,खम्विर कुरा गर्दछ,यसको नीति प्रष्ट छ । काँग्रेसले खसोखास कुरा गर्दछ भन्ने कुरा जनातालई विश्वास दिलाउनुपर्दछ ।’’ उहाँले भन्नुभयो ।

कम्युनिष्टहरुमा आएको विघटनले मुलुकमा अस्थिरता निम्तीएको उहाँको भनाई थियो । नीति र सिद्धान्तमा एकता नभएकाले कम्युनिष्टहरुमा भाडमैलो मच्चिएको उहाँको भनाई थियो । सत्तामा बाँडीचुँडी खानका लागि मिलेका कम्युनिष्टहरु भागबण्डा नमिलेका कारण एकता भंग भएको पौडेलको भनाई थियो ।

कम्युनिष्टहरुमा विघटन आएकाले जनतामा आशा र भरोसा ल्याउने काम काँग्रेसले गर्नुपर्ने नेता पौडेलले बताउनुभयो । हामीले सिद्धान्त र दर्शनका कुराहरु जनतालाई भन्न नसकेका कारण काँग्रेसलाई कम्युनिष्टले उछिनेको उहाँको भनाई थियो । ‘‘काँग्रेस भनेको किसान,मजदुर गरिब र विपन्नको पार्टी हो भन्ने कुरा जनतामा भन्न सकेनौं । जनताका विचमा हामीले छर्लङग रुपमा कुरा राख्न सकेनौं त्यसैले जनतालाई कम्युनिष्टले झुक्काए ।’’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले संविधान भत्काएकाले ओली सरकारको विरोध गरेको उहाँले बताउनुभयो । राष्ट्रियता, प्रजातन्त्र र समाजबाद पार्टीको सिद्धान्त हो यसका वारेमा प्रष्ट रुपमा जनताका विचमा काँग्रेसले कुरा राख्न सक्नुपर्ने उहाँको भनाई थियो । ‘‘ निमुखालाई न्याय र विपन्न जनतालाई आय यहि हो हाम्रो समाजवाद हो ।’’ उहाँले भन्नुभयो । कम्युनिष्ट सँग लड्ने भनेको सिद्धान्तमै हो । काँग्रेसले कम्युनिष्टहरु सँग बहस गरेर जित्नसकेमा मात्र काँग्रेस विजयी हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेता पौडेलले स्वर्गीय खड्काले लोकतन्त्र र प्रजातन्त्रका लागि गरेको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा म्याग्दी लगायत पर्वत र बागलुङका काँग्रेस नेताहरुले स्वर्गीय खड्काप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । काँग्रेस सभापति खम्बिर गर्बुजाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा उपसभापति माधवप्रसाद रेग्मीले स्वागत र सञ्चालन सहसचिव भरत रकालले गर्नुभएको थियो ।