म्याग्दीमा ५४ वटा खोप केन्द्र मार्फत कोभिड विरुद्धको खोप लगाइने

विकल्प न्यूज/बेनी
म्याग्दी, २२ फागुन ।

विश्वभरी महामारीको रुपमा देखापरेको कोभिड १९ रोग विरुद्धको दोस्रो चरणको खोप अभियान म्याग्दीमा आईतबार देखि संचालन हुने भएको छ। नेपालभर हुने दोस्रो चरणको खोप अभियान अन्तरगत स्वास्थ्य कार्यालय म्याग्दीले ६५ बर्ष भन्दा माथि उमेर समुहलाई लक्षित गरेर खोप लगाउने अभियान सञ्चालन गर्न लागेको हो ।

वडामा रहेका खोप केन्द्रबाट ६५ बर्ष माथिका ५ हजारलाई लगाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साले जानकारी दिनुभयो । २३ गते देखि बेनी नगरपालिका, मंगला, मालिका र धवलागिरी गाउँपालिकामा लगाउने अभियान छ । यसैगरी रघुंगगा र अन्नपूर्ण गाउँपालिकामा २६ गते देखि सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

माघ १४ गतेबाट सुरु भएको पहिलो चरणको खोप अभियानमा म्याग्दीमा २ हजार ४९४ जनालाई लगाइएको थियो । पहिलो प्राथमिकतामा स्वास्थ्यकमी र सुरक्षाकर्मीलाई लक्षित गरेर ८ सय ८४ जनालाई र दोस्रो प्राथमिकतामा कर्मचारी र पत्रकार लगायतलाई १ हजार ६१० जनालाई लगाईएको निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

कोभीड १९ को संक्रमण दर तथा रोग लागेपछि मृत्यु हुने दर विशेषगरी ६५ बर्ष भन्दा माथि उमेर समुह बढी रहेकोले जेष्ठ नागरिकलाई प्राथमिकता राखेर खोप अभियान संचालनमा छ।

आईतबारदेखि सुरु हुने अभियानमा स्थानीय तहको वडावडामा रहेको स्वास्थ्य चौकीमा जेष्ठ नागरिकलाई ल्याउन जनप्रतिनिधि र स्थानीयबासीलाई आग्रह गरिएको लम्सालले बताउनुभयो ।

दोस्रो चरणमा म्याग्दीमा ६५ बर्ष माथिका ८ हजार ५६२ जना भएपनि ५ हजार खोप आएकाले बाकीलाई अर्को चरणमा मात्र खोप लगाउने योजना रहेको कार्यालयले जानकारी दिएको छ। खोप लगाउन जिल्लभर ५४ वटा खोपकेन्द्र निर्धारण गरिएको छ । खोप लगाउन एकसय स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्काले खोप लगाए पनि कोभिड १९ बाट जोगिन माक्स लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभएको थियो । कार्यालय प्रमुख लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिवार नियोजन सुपरभाइजर नारायणप्रसाद रेग्मीले गर्नुभएको थियो ।