मिडिया सोसाईटीद्धारा पत्रकारहरुको स्वास्थ्य विमा र पत्रकार बानियाँ पुरस्कृत

विकल्प न्यूज/बेनी
माघ २९ गते ।

म्याग्दीका पत्रकार प्रताप बानियाँ ‘मिडिया सोसाईटी अवार्ड–२०७७’ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारणसभाका अवसरमा विहिबार बेनीमा सात हजार एकसय ५० रुपैयाँ र प्रमाणपत्र सहित बानियाँ सम्मानित हुनुभएको हो ।

सोसाईटीका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य सुदर्शनकुमार श्रेष्ठले बानियाँलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

जिल्लाको बेनी नगरपालिका–५, स्थित चिप्लेटी स्थायी घर भई हाल बेनीमा बस्दै आउनुभएका पत्रकार बानियाँ बेनीबाट प्रकाशन हुने रुप्से दैनिक पत्रिकाका सहसम्पादक संगै नेपाल टेलिभिजन,नेपाल समाचारपत्र दैनिक,उज्यालो ९० नेटवर्क, धवलागिरि टेलिभिजन लगायत सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ ।

विसं २०७४ मा जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालक आवद्ध सोसाइटीले विसं २०७५ देखि वर्षमा एक पत्रकारलाई सम्मान गर्दै आएको सोसाईटीका सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो । १० वर्षदेखि काम गरेका संस्थाका एक सदस्य पत्रकारलाई सम्मान गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि संस्थाका कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य र सचिव अमित विश्वकर्मा सम्मानित भइसक्नुभएको छ ।

यसैगरी सोसाइटीले संस्थामा आवद्ध ११ जना पत्रकारहरुको स्वास्थ्य विमा पनि गरेको छ । स्वास्थ्य विमाका लागि सोसाइटीले प्रत्येक पत्रकारलाई जनही तिनहजार पाँचसयका दरले रकम प्रदान गरिएको अध्यक्ष कमल खत्रीले जानकारी दिनुभयो ।

साधारणसभामा नागरिक समाजका संयोजकसमेत रहेका ज्येष्ठ सदस्य श्रेष्ठले सङ्कटमा परेका जिल्लाका सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धन तथा पत्रकारिताको विकासमा सोसाइटीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चारमाध्यमलाई विनियोजन गरेका बजेट स्थानीय सञ्चारमाध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।

साधारणसभाले सचिव विश्वकर्माको प्रगति र कोषाध्यक्ष आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ । सचिव विश्वकर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।