किन बसे नेकपा म्याग्दीका प्रभावशाली नेता तटस्थ ?

विकल्प न्यूज/बेनी
पुस  १० गते ।

नेकपा म्याग्दीका जिल्ला स्तरका प्रभावशाली नेताहरु तटस्थ वस्दा कार्यकर्ताहरु अलमलमा परेका छन् । साविक एमालेमा रहँदा र अहिले नेकपाका हुँदा समेत प्रभावशाली नेतृत्वका रुपमा चिनिएका नेकपा केन्द्रिय सदस्य थममाया थापा, हालको विघटित प्रतिनिधिसभाका सांसद तथा केस सदस्य भुपेन्द्र थापा, पार्टी सचिव हरिकृष्ण श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख एबम् नेकपाका कार्यालय सदस्य देबेन्द्रबहादुर केसी यतिखेर कुनै पनि समुहमा लाग्नुभएको छैन ।

यसअघि ओली पक्ष तिरको झुकाब भएका नेताका रुपमा चिनिनुहुने उहाँहरुको तटस्थताका कारण ओली पक्षलाई जिल्लामा ठूलो झट्का महशुष भएको छ ।

जिल्लाका नेता तथा कार्यकर्ताहरुको मनोभावना बुभेर मात्र आगमी दिनमा निर्णय लिने उहाँहरु चारजनाको मनोविज्ञान देखिन्छ । कार्यकर्तासँगको सरसल्लाह र परामर्श पछि जुन समुहमा लागेपनि चारै जना एकै समुहमा लाग्ने जस्तो छनक पनि छ । यसो त जिसस प्रमुख केसी भने ओली समुहमा कुनै पनि हालतमा नलाग्ने बताउँनुहुन्छ ।

लामो समय जिल्लाको कम्युनिष्ट पार्टीमा क्रियाशिल भएका उहाँहरुले राजनीतिक,वैचारिक र सांगठनिक अवस्थाको गहन रुपमा अध्ययन गरेर मात्र आफ्नो कित्ता क्लियर गर्ने सोचाई रहेको हुनसक्छ । विगतमा ओली पक्षतिरको झुकाव भएपनि अहिले आएर तटस्थ बस्नुको अर्थ ओली क्याम छाडेको भन्ने नै बुझिन्छ । तर केही बार्गेनिङ र फरक विचारका कारण तत्काल ओलिपक्षमा नखुलेको नेकपा समर्थित नेताहरुको बुझाई छ ।

अहिले तटस्थ बसेपनि छिटै आफ्नो समुहमा आउने प्रचण्ड माधब नेपाल समुहको विश्वास छ । यद्धपी यो विश्वास ओली समुहमा पनि छ ।

केन्द्रमा पार्टी भित्र अन्तरसंघर्ष चर्किदा समेत जिल्लाबाट निरन्तर रुपमा एकताको पक्षमा चार जना नेताले वकालत गर्नुभएको थियो । पार्टी एकताको पक्षमा विचार प्रवाह गरेका चारै जना नेताहरु विगतमा पनि कुनै समुहमा खुलेर लागेको पाइदैन ।

सचिव श्रेष्ठले नेकपा(ओली पक्ष) ले मनोनित गरेको केन्द्रिय सदस्य तथा महाअधिबेशन आयोजक समितिको सदस्यको पद अस्विकार गर्नुभएको छ । श्रेष्ठलाई बुधवार बसेको ओली पक्षको नेकपाले केन्द्रिय सदस्य तथा महाअधिबेशन आयोजक समितिको सदस्यमा मनोनित गरेको थियो ।

शुक्रबार मात्रै म्याग्दी काठमाण्डौं सम्पर्क मञ्चले काठमाण्डौंमा आयोजना गरेको भेलामा सहभागि भएका सचिव श्रेष्ठले आफूले उक्त पद स्विकार नगरेको जनाउ दिनुभएको छ । ‘म अहिले कुनै पनि समुहको भेला तथा वैठकमा सहभागि भएको छैन । जिल्लाका साथीहरु सँगको सरसल्लाह र परामर्शबाट मात्र मेरो कित्ता क्लिएर गर्दछु ।’ टेलिफोनमा सचिव श्रेष्ठले भन्नुभयो ।
जिल्लामा प्रभावशाली नेताका रुपमा पहिचान बनाएका यी नेताहरु कुनै पनि समुहमा नलागी तटस्थ वस्दा कार्यकर्ता पङ्तीमा भने एकखालको अन्यौलता सिर्जना भएको छ । चारजना पूर्व एमाले पृष्ठभूमिका हुनुहुन्छ । विगतमा ओली पक्षतिर जुकाब भएपनि जिल्लामा मध्यमार्गी नेताको पहिचान बनाउनुभएका उहाँहरुलाई यसपटक केपी शर्मा ओलीले चालेको संसद विघटनको कदम चित्त बुझेको छैन ।

संविधान र लोकतन्त्रको खिल्ली उडाउँदै संसद विघटनलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने जिल्ला समयन्य समितिका प्रमुख तथा पार्टीका कार्यालय सदस्य केसी बताउनुहुन्छ ।

पार्टी भित्रको समस्या र विवादहरु मिलाउने सयौं उपायाहरु हुँदाहुँदै जनप्रतिनिधि संस्थालाई विघटन गर्ने केपीको कदम गलत भएको उहाँको बुझलाई छ । जनताले नेकपालाई दिएको यो ठूलो अवसरलाई सदुपयोग गर्नुका साटो संसद विघटन गरेर दुरुपयोग गरेको उहाँले बताउनुभयो ।

नेकपाको केन्द्रमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–माधब नेपाल समुह भनेर प्रस्ट रुपमा कित्ताकाट भएर पार्टी विभाजन हुँदा जिल्लामा लामो समय देखि कम्युनिष्ट आन्दोलनमा लागेका नेताहरुले भने अझै कित्ता क्लियर गर्न सकेका छैनन् ।

म्याग्दीको कम्युनिष्ट आन्दोलनमा सक्रिय भएर पार्टीको माथिल्लो स्तर हुँदै केपी शर्मा ओलीले पहिलो पटक गठन गरेको तिन सदस्यीय मन्त्रीमण्डलमा समेत पर्न सफल पूर्व मन्त्री तथा नेतृ थममाया थापा यतिखेर तटस्थ हुनुहुन्छ । उहाँ पनि कुनै समुहका भेला तथा वैठकमा जानुभएको छैन ।

केपी ओलीको विश्वासको पात्र भनिएको थापाले ओलीलाई साथ नदिँदा जिल्लामा ओलीपक्षलाई ठूलो झट्का लागेको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटनको निर्णय गर्दा समाजिक सञ्जालमा उहाँले विरोध जनाउनुभएको थियो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा केपी ओलीको साथ पाएर उम्मेवारको टिकट ल्याउन सफल हुनुभएका विघटित प्रतिनिधिसभाका सांसद भुपेन्द्र बहादुर थापा पनि यतिखेर मौन वस्नुभएको छ ।

पुस ५ गतेको ओलीको कदम भन्दा अगाडि ओली पक्षमै रहनुभएका सांसद थापा अहिले मौन वस्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्जको भूमिकामा समेत रहनुभएका सांसद थापाको यो मौनतालाई जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुले उहाँले ओलीको साथ छाड्नुभएको रुपमा बुझेका छन् ।

कतिपय नेता तथा कार्यकर्ताहरुले ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयको पक्षमा उहाँ नभएको बताउँछन् । यद्धपी अहिले यो निर्णय सर्वौच्च अदालत पुगेकाले त्यहाँको निर्णय पर्खेर बसेको पनि हुनसक्ने रुपमा बुझेका छन् ।

चारै जना नेताहरुले जिल्लामा रहेका पार्टी समर्थक,सुभचिन्तक र साथीभाईहरु सँग सरसल्लाह र परामर्श गरेर मात्र कित्ता क्लियर गर्ने योजना बनाएको एक जिल्ला सचिवालय सदस्यले बताउनुभयो ।

उहाँहरु नेकपा म्याग्दीको नेता तथा अभिभावक पनि हो ति सदस्यले भन्नुभयो ‘हचुवा र लैलहीमा लागेर अहिले नै कित्ता क्लियर गर्नुहुँदैन । कार्यकर्ताको मनोविज्ञान बुझेर चारै जना एउटै समुहमा जानुहुन्छ ।’

चारै जना पार्टी भित्र लोकप्रिय र जनआधार भएको नेता भएकाले उहाँहरु जुन समुहमा जानुहुन्छ त्यही समुह बलियो हुने पनि जिल्ला सचिवालय सदस्यले भन्नुभयो । चारै जना नेताहरुको कित्ता क्लियर नुहँदा जिल्लामा रहेका अधिकांश कार्यकर्ताहरु पनि यतिखेर अलमलमा परेका छन् ।

पूर्व एमाले विभाजन भएर माले – एमले हुँदाको फुटको अनुभव पनि यी नेतारुलाई राम्रो सँग छ । फुट हुँदाको क्षतिका वारेमा पनि राम्रो सँग ज्ञान भएका नेताहरु भएकाले सवै तिरको अध्ययन र विश्लेषणबाट नै कित्ता क्लियर गर्ने सोचमा नेताहरु देखिएका छन् ।

सचिव श्रेष्ठ र सांसद थापा भने हिजो देखि नै नेता बामदेव गौतम नजिक रहेकाले पनि गौतमको कित्ता क्लियर नुहुँदा सम्म तटस्थ वस्ने जस्तो देखिन्छ । तथापी अहिले नेकपाको आधिकारिकताको निर्णय नभएकाले पनि भोली जुन समुहले आधिकारिता पाउँछ त्यतै लाग्ने जस्तो मनोविज्ञान रहेको पाइन्छ ।