विद्यालय भवन पुननिर्माणको अवसरलाई सदुपयोग गर्न आग्रह

विकल्प न्यूज/बेनी
पुष १ गते ।

विद्यालय भवन पुननिर्माणको अवसरलाई सदुपयोग गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । भुकम्पका कारण भत्किएका विद्यालय पुननिर्माण अभियानलाई सहि तरिकारले सदुपयोग गर्नसके शैक्षिक क्षेत्रको पूर्वाधार निर्माणमा ठूलो फट्को मार्नसक्ने बेनीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) म्याग्दीले भवन पुननिर्माणमा संलग्न उपभोक्ता समितिका पदाधिकारीहरुका लागि आयोजना गरिएको अभिमूखिकरण कार्यक्रममा विद्यालय पुननिर्माणको यो अभियानलाई सहि सदुपयोग गर्न आग्रह गरेका हुन ।

तिनदिन सम्म सञ्चालन हुने कार्यक्रमको उदघाटनका अवसरका जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले विद्यालय भवन पुननिर्माणका लागि राम्रो बजेट आएकाले व्यवस्थापन समिति र समुदाय मिलेर समयमै नमुनाका रुपमा सम्पन्न गर्न अनुरोध गर्नुभयो ।

विद्यालयमा भौतिक पूर्वाधारको विकास गर्ने यो एतिहासिक अवसर हो प्रमुख केसीले भन्नुभयो, ‘पहिला विद्यालय भवन निर्माण गर्न बजेट माग्न कति ठाउँमा धाउनुपर्दथ्यो ? अहिले सहज तरिकारले बजेट प्राप्त भएको छ । जिम्मेवारी बोधका साथ निर्माणको काम गर्नुहोस् ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले शैक्षिक क्षेत्रको पूर्वाधार विकासमा यो ठूलो अवसर भएको बताउँदै अवसरलाई सदुपयोग गर्न अनुरोध गर्नुभयो ।

ठेक्का दिएर कमशल रुपमा विद्यालय भवन निर्माण गरेको भन्ने गुनासो आएको प्रजिअ अधिकारीले बताउनुभयो । उपभोक्ता मार्फत गुणस्तरीय भवन निर्माणको विश्वासका साथ प्रअ र व्यवस्थापन समिति सँग सम्झौता गरेर बजेट पठाएकाले त्यहि अनुरुप काम गर्न प्रजिअ अधिकारीले अनुरोध गर्नुभयो ।

भूकम्पले क्षति पुगेका कक्षा कोठा,शौचालय भवन र खानेपानीका संरचना पुननिर्माण कार्यलाई गुणस्तीय बनाउन सघाउने उद्देश्यले बेनीमा बुधवार देखि तिनदिने अभिमुखिकरण कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रममा निर्माणधिन ३४ विद्यालयका उपभोक्ता समितिका पदाधिकारी,प्रअ र निर्माणमा सहभागि मजदुरहरुको सहभागिता रहेको छ । आयोजनाका प्रमुख तुलाराज चौलागाईले कार्यालयको प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले हाल सम्म २८ करोड ५२ लाख रुपैयाँको लागतमा २४ वटा ४ कोठे,२२ वटा २ कोठे,९ वटा ३ कोठे गरी ५५ वटा भवन पुननिर्माण भइसकेको जानकारी दिनुभयो ।

यसैगरी चालु आर्थिक वर्षमा ३७ वटा ४ कोठे,३ वटा ३ कोठे,१० वटा २ कोठे भवन,२८ वटा शौचालय र २५ वटा खानेपानीका योजना निर्माधिन अवस्थामा रहेको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन कार्यालयका इन्जिनियर विष्णु रिजालले गर्नुभएको थियो ।