महिला हिंसा विरुद्ध बेनीमा सचेतनामुलक कार्यक्रम

विकल्प न्यूज/बेनी
मंसिर २२ गते ।

    

म्याग्दीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार सदरमुकाम बेनीमा सडकमा सचेतनामुलक कार्यक्रम गरिएको छ ।

यूवा सूचना केन्द्रको आयोजना, संगम म्याग्दी र नेपाल युथ काउन्सिल म्याग्दीको समन्वयमा इन्द्रेणी टोलमा आयोजित घरेलु हिंसा, बलात्कार, बालबिवाह, कामदार महिला, बोक्सी प्रथा, एसिड आक्रमण र आत्महत्या बिरुद्धको सचेतनामुलका कार्यक्रम प्रर्दशन गरिएको कार्यक्रम संयोजक रञ्जना श्रेष्ठले जानकारी दिनुभयो ।

‘लैंगिक हिंसाको बिरुद्ध एकजुट हुन सामुहिक अपिल गरेका छौ,‘कोरोनाको जोखिमका बिच यसपटक विभिन्न रचनात्मक कार्यहरु गरेका छौ’ श्रेष्ठले भन्नुभयो । नेपालको नक्सामा ७ प्रदेश बनाएर ७ वटा सामाजिक सवालहरुमा युवायुवतीले आफ्नो नाट्यात्मक ढंगले प्रस्तुती दिएका थिए ।

‘हिंसाको सातौं रङ’ नाम दिइएको प्रर्फमेन्स एक्टमा यूवापुस्ताले लैंगिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो । उक्त कार्यक्रमको निर्देशन गर्नुभएका संगम म्याग्दीका शिक्षा विकास कार्यक्रम संयोजक चन्द्रबहादुर बुढा मगरले सामाजिक सबालमा ध्यान दिन सकेमा लैंगिक हिंसाको अन्त्यमा सहज हुने बताउनुभयो । ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको एक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित म्याग्दीका विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीले मैनबत्ती प्रज्ज्वलन, अभिमुखीकरण तालिम, सन्देशमुलक सडक कार्यक्रम लगायत लैंगिक हिंसाको अन्त्यका लागि आवश्यक विभिन्न कार्यक्रम गरिएको गैसस म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताए ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई लैंगिक हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो । तसर्थ, हरेक वर्षको २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ ।