यहाँ देखिन्छ बेनीको एक चित्र !

विकल्प न्यूज/बेनी
मंसिर २१ गते ।

साघुरो सडक । हिउदमा धुलो र वर्षातमा हिलाम्मे । नजिकै विद्यालय । दिनको सयौं सवारीसाधन आवातजावत। यो हो, बेनीको विरेन्द्रचोक नजिकै रहेको अव्यवस्थित चोक । एकछिन बसेर यो चोकको दृश्य अवलोकन गर्ने हो भने समग्र बेनीको चित्र आउँछ ।

यो चोकको दृश्यले यहाँका सरोकारवालाहरुलाई गिज्याई रहेको छ । यो चोकलाई व्यवस्थित पार्न न कुनै ठूलो बजेट को नै आवश्यक पर्दछ ! आवश्यकता त इच्छाशक्तिको हो ।

चोकलाई फराकिलो र व्यवस्थित बनाउन सकिने आधारहरु हुँदाहुँदै पनि किन यो चोक किन अव्यवस्थित र भद्रगोल भइरहेको छ ? सडक आसपासमा पसलका ट्याङ्कीहरु राखिएका छन् ।

तिनै पसलका कारण चोक साघुरो भएको छ ।  साघुरो सडकका कारण बेनी सामुदायिक विद्यालयका साना साना बालबालिकाहरु जोखिममा छन् ।

 

धुलो र धुवाले स्वास्थ्यमा असर पु¥याएको छ भने अर्को तिर सवारीसाधनको बाक्लो ओहोरदोहोरले दुर्घटनालाई पर्खिरहेको छ । 

यही चोक भएर बेनी दरवाङ,बेनी अर्थुङ्गे,पाखापानी,पुलाचौर लगायत ग्रामिण क्षेत्रहरुमा सवारीसाधनहरु जाने गर्दछन् ।
चोक आसपासमा रहेका ति पसलहरुलाई हटाएर चोकलाई फराकिलो र व्यवस्थित बनाउन सकिन्छ । अझै राम्रो बनाउ भन्ने हो भने वन डिभिजन कार्यालयको अलिकति जमिन काटेर सडक सिधा पार्न सकिन्छ ।

हामी यो काम किन गर्न सक्दैनौं त ! कसले गर्ने यो काम ? नजिकै जिल्ला समन्वय समितिको कार्यालय छ । त्यहाँबाट अलि पर पुगेपछि स्थानीय सरकार बेनी नगरपालिकाको कार्यालय छ । अलि वर जिल्ला प्रशासन कार्यालय छ ।

 

नगरपालिकाका जनप्रतिनिधिको इच्छाशक्ति भएमा चोकलाई फराकिलो र व्यवस्थित बनाउन असम्भव केही छैन । सम्भव हुनेजति काम गरेर चोकलाई सफा,फराकिलो र व्यवस्थित बनाउन सक्ने हो भने बेनीकै सुन्दरता थपिने छ ।

बजारलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल नगरेको पनि होइन । हालसालै नगरपालिका गेट नजिकै रहेको जिपपार्कलाई बहुउद्देश्यीय खेलमैदानमा सारेपछि त्यहाँ व्यवस्थित हुँदै छ ।

पुलको मुख अव फराकिलो र व्यवस्थित हुँदैछ । तर बेनी सामुदायिक विद्यालयको नजिक रहेको यो चोक अव्यवस्थित छ । आशा छ नगरपालिकाले यो चोकलाई पनि आगमी दिनमा व्यवस्थित र फराकिलो पार्ने छ ।