जलजलाको माझफाँटमा औद्योगिक ग्राम स्थापनाको प्रक्रिया सुरु

विकल्प न्यूज/जलजला
मंसिर १८ गते ।

पर्वतको उत्तरी जलजला गाउँपालिकाले वडा नम्बर २ माझफाँटमा औद्योगिक ग्राम बनाउन तयारी थालेको छ । संघिय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेसँगै जलजलाले औद्योगिक ग्राम स्थापनाका लागि तयारी शुरु गरेको हो ।

गाउँपालिकाले माझफाँटमा २५० रोपनी सार्वजनिक जग्गा व्यवस्थापन गरी औद्योगिक ग्राम बनाउनका लागि बोलपत्र आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार चालु आर्थिक वर्षमा संघीय सरकारले औद्योगिक ग्राम स्थापनाका लागि ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उक्त बजेटबाट चालु आर्थिक वर्षमा कम्पाउण्ड वाल,गेट र समथर जग्गा निर्माणका लागि वोलपत्र आह्वान गरिएको उहाँले बताउनुभयो । पौष मसान्त सम्म ठेक्का सम्झौता गरी निर्माणको काम थालिने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।

गाउँपालिका भित्र रहेका साना तथा घरेलु उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन संघीय सरकारले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने योजना अगाडि सारेको हो ।

स्थापना हुन लागेको औद्योगिक ग्राममा हेल्थपोष्ट,चमेना गृह,कार्यालय भवन,प्रदर्शनी हल,सुरक्षा गार्डको भवन,अग्नी नियन्त्रण,बैंक लगायतको व्यवस्था गरिने छ । यसका साथै १७ वटा प्लट निर्माण गरिने छ । सडक,पेटी क्षेत्र,शौचालय,फोहोरपानीको शुद्धीकरण क्षेत्र र पानी ट्याङकी लगायतका पूर्वाधार निर्माण हुने छन् । यसै गरी औद्योगिक ग्राम भित्र लोडिङ अनलोडिङ क्षेत्र,पार्कीङ र हरियाली क्षेत्र निर्माण गरिने छ ।

औद्योगिक ग्राम स्थापना भएसँगै साना तथा घरेलु उद्योग स्थापना गर्न चाहने व्यक्ति जग्गाको कारण खुम्चिनु पर्ने छैन प्रमुख प्रशासकीय अधिकृत शर्माले भन्नुभयो ‘औद्योगिक ग्राम स्थापना गर्ने सरकारको राम्रो कार्यक्रम हो । यसले गाउँपालिका भित्र साना तथा घरेलु उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्दछ ।’