प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमका ५० योजनालाई ४ करोड बजेट

विकल्प न्यूज/बेनी
मंसिर १७ गते ।
गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत म्याग्दी निर्वाचन क्षेत्र (क) र (ख) मा सडक, खेलमैदान, पदमार्ग, सिचाई, भवन लगायतका क्षेत्रलाई प्राथमिकता दिंदै ५० योजनालाई ४ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सभा निर्वाचन क क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका २५ योजनालाई २ करोड र निर्वाचन क्षेत्र ख बाट निर्वाचित प्रदेश सभा सदस्य नरदेवी पुनको सिफारिसमा मंगला, मालिका र धवलागिरि गाउँपालिकाका २५ योजनालाई २ करोड बजेट विनियोजन गरिएको हो ।

प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रमको लागि छनौट भएका योजनाहरु भौतिक पूर्वाधार विकास कार्यालयले उपभोक्ता समितिहरु मार्फत कार्यान्वयन गर्ने जनाईएको छ । अन्नपूर्ण गाउँपालिकाको थेसरा महभीर मोटरबाटो निर्माणको लागि ८ लाख, भुरुङतातोपानीको चिसापानी खेलमैदानको लागि ८ लाख, पाउद्धारको खयरखोला खानेपानी योजनाको लागि ५ लाख, हिस्तानको मछिनी–ठुलोखर्क मोटरबाटोको लागि ८ लाख, स्वाँतमा मनिबराह बहुउदेश्यीय कृषि सामाग्री संकलन केन्द्र निर्माण गर्न रु १० लाख र नागी–बनबणे माटरबाटो निर्माणको लागि १० लाख बजेट विनियोजन भएको छ ।

रघुगंगामा बेगखोलाको सिमफाँट खेलमैदानलाई ९ लाख, साझापानीको पहिरो नियन्त्रण र खेलमैदान निर्माणको लागि २५ लाख, मालिकादेवी मन्दिर निर्माणको लागि ५ लाख, महतारे आमा समुह भवन निर्माणको लागि ४ लाख, मौवाफाँटमा मगर संघको सामुदायिक भवन निर्माणको लागि ८ लाख, छिनडाँडा–आँटरी–चिहानडाँडा पदमार्ग निर्माण र उदा आमा समुहको भवन घेरावारको लागि ५ लाख, दग्नामको कान्छिगाउँ–भुमेथान पदमार्ग निर्माणको लागि ४ लाख, चिमखोलाको धमाखु खेलमैदानमा शौचालय निर्माणको लागि ७ लाख, राहुघाटको ड्यामसाईट देखि झिँ पाखापानी मोटरबाटो स्तरोन्नतीको लागि १० लाख र चौरखानी खेलमैदान निर्माण तथा घेराबारको लागि ४ लाख बजेट विनियोजन भएको छ ।

त्यसैगरि बेनी नगरपालिकामा लामाबगर खेलमैदानको लागि ५ लाख, भकिम्ली सीर्कु अर्गल ताराखोला मोटरबाटोलाई २५ लाख, महारानीथान देउराली पदमार्गलाई १० लाख, घतानको मुलखेत सिचाईको लागि ५ लाख पुलाचौर देवी मन्दिरलाई ५ लाख, बालमन्दिर आधारभुत विद्यालय घेराबार निर्माण ५ लाख, राजकुलो संरक्षण सडक निर्माण गर्न ४ लाख, बेनपा ६ को पाखाथर कृषि सडक निर्माण गर्न ६ लाख र पुरुण्डे खेलमैदान निर्माण गर्न ५ लाख बजेट विनियोजन भएको छ ।

त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र (ख) मा निर्वाचित प्रदेश सभा सदस्य एवम सामाजिक विकास मन्त्री नरदेवी पुनको सिफारिसमा २५ योजनालाई २ करोड बजेट विनियोजन गरिएको छ । विद्यालय भवन, खेलमैदान, तटबन्ध, घेराबार, सिचाई लगायतका योजनालाई प्राथमिकतामा राखेर योजना छनौट गरिएको छ ।

मालिका गाउँपालिकामा रुमको दुरलेक पदमार्ग निर्माणमा २५ लाख, निस्कोटको भट्टखोला तटबन्धलाई ५ लाख, बिमको अर्कलादेखि बराहताल पदमार्ग निर्माणमा ५ लाख, बिमकोट सत्तल निर्माणमा ५ लाख, दरबाङको समिक्षा आमा समुह भवन ४ लाख, किसानी प्राविधिक शिक्षालय घेराबारमा ८ लाख, निस्कोटको बाँसबोट खहरे बगताल सिचाई योजनामा ५ लाख, दुखुबेशीको उपल्लो सिचाई कुलो मर्मतमा ७ लाख विनियोजन गरिएको छ ।

धवलागिरि गाउँपालिकाको लुलाङ स्थित खोरिया खेलमैदान निर्माणमा ७ लाख, गुर्जा स्वास्थ्य चौकी शौचालय निर्माणमा ७ लाख, मुदीको देमुदेखि फल्टीङखोला तातोपानी पर्यटन पदमार्ग निर्माणमा ६ लाख ५० हजार, सोलबाङ्ग मोटरबाटो निर्माणमा १५ लाख, मलमपार आमा समुह भवनमा ७ लाख, भेडिखाल्टा क्लब भवनमा ५ लाख, चेचुङ खेलमैदान घेराबारमा ५ लाख, बगरतातोपानी कुण्ड संरक्षणमा ६ लाख, लुलाङ विद्यालय खेलमैदान निर्माण ७ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

त्यसैगरि मंगला गाउँपालिकामा हिलबाङ खोला खारापानी सिचाई योजनालाई ४ लाख, पैयुँपाटा सामुदायिक भवन निर्माणलाई ५ लाख, ओखलढुंगा कलेसे बाँसबोट सिचाई योजनालाई ५ लाख, मनकामना खेलमैदानलाई ५ लाख , मंगला शिक्षा क्याम्पसलाई २५ लाख, रनबाङ दरुङ हिदि खात्रुङखोला मोटरबाटोलाई १० लाख, पूर्णगाउँको शिबमन्दिर निर्माणलाई ५ लाख, पखरे पिङ्गे मोटरबाटोलाई ११ लाख बजेट विनियोजन गरिएको छ ।