चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
मंसिर७गते।
केही दिन अगाडि ग्राफिक्स कम्युटरको ढोकैमा डाक्टर डि.पी. भूसालसँग जम्का भेट भयो । अभिवादनको लेनदेन सँगै डा. साहेबले ‘सञ्चो बिसञ्चो के छ ?’ भनेर पनि सोध्नु भो । बिरामी नै भैहालेको भए त अन्त कहाँ गईन्थ्यो र ? टाढाको आरन भन्दा नजिकको उलिन बेस ! जति नै जटिल रोग लागेको भए पनि पहिलो उपचार त भुसाल डाक्टरबाटै गराईन्थ्यो । सल्लाह सुझाव लिईन्थ्यो । डा. साहेबले कुरा नबुझ्नु भएको होईन ।
त्यो त उहाँको अभ्यस्त औपचारिकताको शालीन अभिव्यक्ति थियो । लोकाचार र औपचारिकता भन्दा पनि त्यो अमृत वाणीमा डाक्टरको सभ्य, शिष्ट र सुसंस्कृत व्यक्तित्वको प्रतिविम्व पोखिएको जस्तो लाग्यो । डा. साहेवको त्यो मिठो व्यवहारले मलाई भने एउटा पुरानो नमीठो घटनाको सम्झना गराई दियो ।
कुरो दुई दशक अगाडि कै हो । एकदिन अकस्मात मेरी श्रीमतीजी बिरामी परिन् । हतारो गरेर गाउँबाट झरे पनि साँझसम्म मात्र बेनी आईपुगियो । डा. पाण्डेले जिल्ला अस्पतालमा लैजानु उपयूक्त हुने सल्लाह दिनु भयो । हतारिएको म अस्पतालको क्वाटर तिर हानिएँ । डा. साहेब बसेको कोठाको ढोका ढकढकाएँ । वकार्ईदा पूर्व अनुमति लिएर भित्र छिरेँ । राना थरका डाक्टर र अर्को एकजना भण्डारी थरका असिस्टेन्ट एउटा टेबुलको वारिपारि बसेर के गर्दै थिए कुन्नी ? मैले भने आफ्नो समस्या सुनाई हालेँ । डा. साहेबले पनि मीठै बोलीमा भन्नुभो– ‘डाक्टर पनि मान्छे नै हो, उसलाई पनि भोक लाग्छ, तिर्खा लाग्छ, थकाई लाग्छ । दिनभरीको थकाईको टेन्सनबाट मुक्त हुन अलिकता ‘इन्टर्टेन्मेन्ट’ गर्न लागिएको छ । कृपया भोलि समयमा नै आउनु होला है ।’
डाक्टर मात्रै मान्छे हो र !? म पनि त मान्छे नै थिए । लोभ,पाप, माया, मोह, काम, क्रोध, घृणा जस्ता मानवीय गुणावगुण म मा पनि नहुने कुरै भएन । कत्रो न आशा भरोसा गरेर डाक्टरको शरणमा गईएको छ । डाक्टरले भने वेैरङ्ग फर्कार्इृदिँदा अलिकता नमीठो लाग्दो रहेछ । अलिकता रिस पनि उठ्यो । डाक्टरले ढोका बन्द गर्ने संकेत गर्दा गर्दै पनि मेरा खुट्टा पछि फर्किनै मानेनन् । रोक्दा रोक्दै पनि मेरो बोली फुटिहाल्यो– ‘डा. साहेव हामी दूर कन्दराका गाउँलेहरु सामान्य बेरामी पर्दा गाउँकै धामी, झाँक्री, झारफुके, वैद्यहरुलाई देखाउँछौं । धामीले नाडी छामेर, खरानीले फुकि दिँदा हाम्रो आधारोग निको हुन्छ । अलि असाध्य रोग लागे पछि मात्रै अस्पताल आईन्छ ।
डाक्टरलाई गाउँलेहरुले सर्वशक्तिमान ईश्वर समान सम्झन्छौं । डाक्टरले त छोई दिए मात्र पनि रोग भाग्छ भन्ने मनोविज्ञान रहन्छ हाम्रो । तर दुर्भाग्य, डा.साहेवलाई फुर्सद रहेन्छ ! ‘टेन्सन र इन्टर्टेन्मेन्ट’ भनेको त कुन्नी क्या हो ? मैले बुझ्दिन तर भगवान मान्छेप्रति यति निर्दयी र सम्वेदनाहीन हुन्छ भन्ने कुरा भने मलाई थाहा थिएन ।
घण्टौंको पैदलयात्रा तय गरेर मुस्किले डाक्टरको दर्शन पाईएको छ, अर्कोतिर रोगको पीडा छँदै छ । डाक्टरले भने बिरामीतिर टलक्क नजर लगाउन पनि गाह्रो मानिदिने ! धन्यवाद डा. साहेव ! तपाईको भलो होस् ।’ हम्मेसी रिसलाई सार्वजनिक नगर्ने अभ्यास बाल्यकाल देखि नै गरिआएको मैले नम्रतापूर्वक यति नबोली सकिन ।
अस्पताल त्यही हो । पदभार पनि त्यहि होला । पेशा पनि उही हो । एक जना डाक्टरले बेरामीको दुःख दर्द भन्दा आफ्नो ‘ईन्टर्टेन्मेन्ट’ लाई बढी महत्व दिन्छ । आफ्नो ज्ञान र सीपलाई मानवताबाट प्रेरित भएर होइन, कर्तव्यद्वारा निर्देशित भएर पनि होइन, जागिरका लागि मात्र उपयोग गर्छ । उसका लागि दया, माया, कर्तव्य र मानवीय समवेदनाले कुनै अर्थ राख्दैन । अर्को डाक्टर बाटा घाटामा पनि मानिसहरुको सञ्चो विसञ्चो सोद्धै हिँड्छ ।
कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि । मानिस पढेर विद्वान हुन सक्छ तर सबै विद्वान ज्ञानी हुन सक्तैनन् । ज्ञानी बन्नका लागि त मान्छेमा असल संस्कार हुनु पर्छ । असल सभ्यता र संकारको राम्रो उदाहरण हो ‘भुसाल संस्कृति’ र मलाई लाग्यो त्यतिबेला डा. भुसालजी म्याग्दी अस्पतालमा भैदिया भए कति जाती हुन्थ्यो ! मेरी श्रीमती त डा.पाण्डेकै उपचारले निको भईथिन् ।
भुसाल जस्तो डाक्टर भै दिएका भए कमसे कम अस्पतालबाट मैले निचोरिएको कागती जस्तो अनुहार बनाएर फर्कनु पर्ने थिएन । बेरामी तनको उपचारका निमित्त गएको अस्पतालबाट घाईते मन लिएर फर्कनु पर्ने थिएन र कमसेकम डाक्टरहरु प्रति मेरो हृदयको एउटा कुनामा आजन्म नकारात्मक भावनाको सानो तुष रहिरहने थिएन ।
यतिबेलै सुनियो म्याग्दी अस्पतालको हातामा ‘राधाकृष्ण’ को मन्दिर बन्यो रे ! अस्पताल परिसर भित्र त रोग निदानका आधुनिक उपकरणहरु जडान गरिएको कुरा सर्वसाधारणका लागि कर्णप्रिय हुन्थ्यो । अस्पतालमा थप बेड सुविधा थपिएको समाचारले मानिसहरुलाई पुलकित बनाउँथ्यो । निशुल्क औषधीको थप व्यवस्था भैदिएको भए मानिसहरु रोमाञ्चित हुन्थे । डाक्टर र नर्सहरुको व्यवहारमा सुधार भएको कुरा सुन्दा त मान्छेलाई कानबाट अमृत छिरे जस्तै लाग्नेथ्यो । कमसेकम बेरामी राख्ने कोठा र कोराईडोरमा बत्तिसम्मको थप प्रबन्धको समाचार पनि राम्रै लाग्नेथ्यो ।
तर अस्पतालभित्र मन्दिर निर्माणको कुरा कसै कसैलाई त ‘भाङग्राको टोपीमा गुयलाको फूल’ जस्तो पनि लागेको होला । मलाई भने मन्दिर बनेको कुरो राम्रो लागेको छ । बरु त्यो मन्दिर १५÷२० बर्ष अगाडि नै बनिदिएको भए डाक्टरले वैरङ्ग फर्काई दिए पनि मन्दिरमा पसेर भगवानसँग आरोग्यताको भाकल गरेर फर्कदो हँु ।
त्यतिबेला न डा. भुसाल मिले न राधाकृष्ण ! अझै केही बितेको छैन । यो व्यवस्थालाई ‘मरेपछिको ओखती’ मैले ठान्दिन । अमmै १०/५ बर्ष निश्चय नै बाँचिएला । त्यतिन्ज्याल अस्पतालमा आउने सबै डाक्टरहरु भुसाल जस्तै दयालु र सहृदयी हुने छैनन् । डा. रानाहरु जस्ता पनि त फेरि फेरि आउलान् । त्यतिबेला त काम लाग्लान् नी भगवान राधापति जी !!
–प्रकाशोन्मुख नयाँ पुस्तकबाट