विदेशमै बन्यो युवाको कृषि सपना, गाउँमा भयो साकार(फोटोफिचर सहित)

ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर २ गते ।

‘धेरै पैसा कमाउने सपना बोकेर इराक पुगेको थिएँ । सोचे जस्तो रोजगारी पाउन र पैसा कमाउन सकिँन । गाउँ फर्किएर बाख्रा पाल्ने योजना बनाएँ ।’ आफ्नो जन्मभूमिमा परिवारसँग बसेर व्यवसाय गर्दा सन्तुष्टिसँगै आनन्द पनि । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले अनुभव सुनाउनुभयो ।


विदेशबाट फर्किएर थापामगरले बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । उहाँको फर्ममा यतिखेर माउ बाख्रा, बोका र पाठापाठी गरेर ४० वटा छन् । ४ वर्ष अगाडि सुरु गर्नुभएको बाख्रापालनमा अहिलेसम्म २५ देखि ३० लाखसम्मको लगानी भइसकेको छ । गतवर्ष भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रबाट चार लाख पचास हजार रुपियाँ अनुदान लिएर उहाँले व्यवस्थित खोर निर्माण गर्नुभएको छ ।

बाख्रामा रोग लागेमा थापाले आफै औषधि उपचार गर्नुहुन्छ । भेटेरीनरी म्बन्धी एकवर्षे कोर्ष पनि पढ्नुभएको छ । विदेशबाट फर्किएपछि भेटेरीनरी कोर्ष पढेँ उहाँले भन्नुभयो ‘बाख्रामा रोग लागेमा आफै उपचार गर्दछु ।’ भविष्यमा अझै फर्मलाई विस्तार गर्ने सोच थापामगरले बनाउनुभएको छ । बोका र पाठापाठी विक्री गरेर वर्षमा पाँचलाख भन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । बोयर जातका बोका र पाठापाठीको धेरै माग आउने गर्दछ तर पु¥याउन सकिएको छैन उहाँले भन्नुभयो । यस्तै बेनी नगरपालिका ६ चुत्रेनीका कृष्णबहादुर मल्लले पनि इराकबाट फर्किएर व्यावसायिक रुपमा बोयर जातको बाख्रापाल्न थाल्नुभएको छ । इराकबाट फर्किएर अष्ट्रेलिया जाने योजना बनाउनुभएका मल्लको गाउँ आएपछि मन फेरियो ।
अष्ट्रेलिया जान जुटाएको ३० लाख रुपियाँ मल्लले बाख्रापालनमा लगानी गर्नुभयो । ३० ÷४० लाख खर्चिएर विदेश जानुभन्दा आफ्नै गाउँघरमा कृषिपेशा गरौं भन्ने सोच आएपछि बाख्रा पाल्न थालेको मल्लले बताउनुभयो ।

कसैको गाली खानुपरेन, स्वतन्त्र भएको महसुस भएको छ मल्लले भन्नुभयो ‘बाख्रापालनबाट राम्रो आम्दानी  लिएको छ,ु सन्तुष्टि पनि मिलेको छ ।’ अष्ट्रेलियाबाट बीउका लागि बोयर जातको बोका झिकाएको उहाँले बताउनुभयो । अहिले बोयर जातका २८ वटा बाख्रा मल्लको फर्ममा छन् । घाँसका लागि मल्लले जग्गा भाडामा लिनुभएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रबाट गतवर्ष साँढे दुइलाख रुपियाँ अनुदान लिएर खोर निर्माण गर्नुभएको छ । सरकारी निकायबाट पाएको सहयोगले मल्ललाई थप हौसला मिलेको छ । भविष्यमा खोरको क्षमता बढाएर बाख्राको संख्या बढाउने योजना रहेको मल्लले सुनाउनुभयो ।

अर्का युवा बेनी नगरपालिका १० पात्लेखेतका भविन्द्र पाइजाको बाख्रा पाल्ने योजना कोरियामा बन्यो । १० वर्ष कोरियामा बिसताउनुभएका पाइजाले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्ने योजना बनाउनुभयो । अरुको आदेश र अधीनमा कति समय बस्नु भनेर गाउँ फर्किने सोच बनाएँ पाइजाले भन्नुभयो ‘गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्ने योजना कोरियामै बनाएको हुँ ।’

३० लाख लगानी गरेर तीन वर्ष अगाडि सुरु गर्नुभएको बाख्रापालनबाट राम्रो आम्दानी गर्न पाइजा सफल हुनुभएको छ । यतिखेर उहाँको फर्ममा माउ बाख्रा,पाठापाठी र बोका गरेर ६५ वटा छन् । वर्षेनी करिब ९/ १० लाखको बोका विक्री गर्ने उहाँ बताउनुहुन्छ । विदेशमा भन्दा आफ्नै गाउँठाउँमा परिश्रम गर्दा आनन्द आउँदोरहेछ पाइजाले भन्नुभयो ‘विदेशमा आर्जन गरेको पूँजी र सिकेको अनुभवलाई प्रयोग गरेको छु ।’ त्यस्तै बेनी नगरपालिका ९ काउलेगौंडाका ओमकार पुरीको कुखुरा पाल्ने योजना पनि विदेशमै बन्यो । पुरीको फर्ममा तीनहजार कुखुरा छन् । पुरीले ६० लाख लगानी गरेर तीनवर्ष अगाडि कुखुरा व्यवसाय थाल्नुभएको हो । पुरी पोल्ट्री फर्म स्थापना गरी पुरीले व्यावसायिक रुपमा कुखुरा पाल्न थाल्नुभएको हो । उत्पादित अण्डा अधिकांश गाउँबाटै र बाँकी गलेश्वर त्यसपछि बेनीसम्म विक्री हुने उहाँले बताउनुभयो । बर्सेनि अण्डा बिक्रीबाट १० देखि १५ लाखसम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो ।

त्यस्तै बेनी नगरपालिका १ सारेमारेका एकेन्द्र थापाले व्यवसायिक बंगुरपालनबाट राम्रो आम्दानी लिनुभएको छ । वार्षिक रुपमा पाँच लाखभन्दा बढी आम्दानी हुने उहाँले बताउनुभयो । दुईवर्ष अघि पहिलो कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गर्नुभएको थापाको फार्ममा अहिले स्थानीय लोकल कालो सुंगुर र बँदेलका साथै बंगुरहरु छन् ।कतार हुँदा बंगुर पाल्ने योजना बनाएको थिएँ थापामगरले भन्नुभयो, ‘कस्तो खोर बनाउने र कति लगानी गर्ने योजना त जहाजमै बनाएँ ।’ ‘कतारबाट नेपाल आउँदासम्म मेरो मनमा धेरै कुराहरु खेलिरहयो । विदेशमा केही गर्न नसकेर गाउँ फर्कियो भनेर धेरैले कुरा पनि काट्लान् । नमुना किसान बनेर समाजमा उदाहरण देखाउँछु जहाजमै अठोट लिएँ ।’ जहाजको यात्राको अनुभव सुनाउँदै उहाँले भन्नुभयो ।

उहाँको फार्ममा बंगुरका माउ ११, पाठापाठी २२ वटा छन् । स्थानीय लोकल सुँगुरको बढी माग आउने उहाँले बताउनुभयो । भविष्यमा स्थानीय सुँगुरको संख्या बढाउने उहाँले सोच बनाउनुभएको छ । विदेशमा गर्ने दुःख र परिश्रम गाउँमै गर्न सके राम्रो आम्दानी गर्न सकिने अनुभव थापाले सुनाउनुभयो । दुईवर्षको अवधिमा २५ वटा ठूला बंगुर विक्री गरेको उहाँले बताउनुभयो । पाठापाठीहरु करिब एकसय जति विक्री गरेको थापाले बताउनुभयो । पाठापाठीको धेरै माग आउने गरेको छ उत्पादनले माग धान्न सकेको छैन उहाँले भन्नुभयो ‘उत्पादन बढाउन लगानीको आवश्यक छ । भविष्यमा लगानी थप्ने योजना बनाएको छु ।’

चार लाख रुपियाँको लगानीबाट सुरु भएको बंगुरपालन व्यवसाय यतिखेर करिब २५ लाख म्म लगानी भएको छ । पैसा कमाउने सपना बोकेर विदेश हानिएका युवा धमाधम गाउँ फर्किएर व्यवसायिक कृषि पेशा गर्न थालेका छन् ।

विदेशमा हण्डर खाएर गाउँ फर्किएका युवाले थालेको पशुपालन समाजमा नमुना भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका पशु प्राविधिक सुवास रेग्मीले बताउनुभयो । विदेशबाट फर्किएरर एक युवाले थालेको कृषि पेशा समाजमा उदाहरणीय बनेका छन् । तिनै युवाको सिको गरेर अन्य युवा पनि कृषि पेशामा जोडिन थालेका छन् । साभार ः गोरखापत्र अनलाइन