म्याग्दी उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि पौष १८ गते अधिबेशन

विकल्प न्यूज/बेनी
कार्तिक२८गते । 

 निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयन गर्नका लागि पौष १८ गते ११ औं अधिबेशन तथा २७ औं साधारणसभा हुने भएको छ ।

कार्तिक २३ गते बसेको संघको कार्यसमितिको पूर्ण वैठकले आगमी नेतृत्व चयनका लागि पौष १८ गते अधिवेशनको मिति तोकेको महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो । वर्तमान कार्यसमितिको तिनवर्षे कार्यकालन पौष मसान्तमा सकिदै छ । अधिवेशनको मिति चयन सँगै तयारी थालिएको छ ।

करिब २२ सय साधारण सदस्य रहेको उद्योग वाणिज्य संघको अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,प्रथम,द्धितिय,महासचिव,सचिव,सहसचिव,कोषाध्यक्ष,सह कोषाध्यक्ष लगायत ३७ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।  संघको अधिवेशन हुनुभन्दा १५ दिन अगाडि संघ अन्तर्गत स्थानीय तहमा रहेका इकाई र महिला उद्यम विकास समितिको अधिवेशन गरिने महासचिव गौतमले जानकारी दिनुभयो ।

अधिवेशनको मिति तोकिए सँगै तयारीलाई तिव्र पारिएको उहाँले जानकारी दिनुभयो । संघले तिनवर्षमा गरेका काम र उपलब्धीहरुलाई समेटेर प्रकाशन गरिने स्मारिका लागि पनि तयारी गरिएको गौतमले जानकारी दिनुभयो ।

उवासंघलाई म्याग्दीमा निजि क्षेत्रको एक बलियो संस्थाका रुपमा लिने गरिन्छ । बेनी बजारमा रहेको आफ्नै सुविधा सम्पन्न भवनबाट संघले कार्यालय सञ्चालन गर्दै आएको छ । व्यवसायीक हकहितका साथै सामाजिक कार्यमा पनि संघले जिल्लामा बलियो उपस्थिती जनाउने गरेको छ ।  अधिवेशनको मिति चयन सँगै अध्यक्ष लगायत पदाधिकारीहरुका लागि आकांक्षीहरुले भित्रभित्र लबिङ गर्न थालेका छन् ।

बर्तमान कार्यसमिति सहमतिमा चयन गरिएको थियो । यसपटक पनि सहमतिमै अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरु चयन हुने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।