बेनी अस्पतालमा थाइराइडकाेे उपचार शुरु

विकल्प न्युज/ बेनी

कार्तिक २७ गते ।

म्याग्दीबाट थाइराइडको उपचार गर्न  जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

बेनी अस्पतालले बिहिबारदेखि पहिलोपटक जिल्लामै थाइराइडको चेक जाँचको सुरुवात गरेसँगै उपचारमा सहज भएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला अस्पतालमा अत्याधुनिक सेवा विस्तारको क्रममा थाइराइडको उपचारको अभावमा समस्या झेल्दै आएका बिरामीलाई लक्षित गरी मेसिन जडानसँगै सेवा सुरू गरिएको अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

‘अब अस्पतालमै उपचार हुन्छ,‘ सरकारी अस्पताललाई नागरिकहरुको भरोसाको केन्द्र बनाउने अभियानमा सफलता मिल्दै छ’कटुवालले भने ।
उनका अनुसार जिल्लाभित्र थाइराइडको समस्या भएका धेरै बिरामी भएपनि नियमित उपचार र जनचेतनाको अभावले समयमै उपचार पाउन नसकेको बताउँदै सेवासँगै प्रचारप्रसार समेत गरिने बताए ।

गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनको पहलमा उक्त सेवा थप गरिएको अध्यक्ष कटुवालको भनाई छ। अस्पतालको गुणस्तर राम्रो भएमा मात्र नागरिकको विश्वास आर्जन गर्न सकिने भएकाले थप नयाँ र आधुनिक सेवाहरु समेत थप्ने योजना रहेको बताए ।

थाइराइड परीक्षण शुरु भएपछि पीडित समेत हर्षित भएको अस्पतालले जनाएको छ। हालसम्म म्याग्दीबाट थाइराइडको उपचारका लागि पोखरा र काठमाण्डौ जानुपर्ने बाध्यता रहेको थियो ।
‘हाम्रो घाँटीमा हुने यो ग्रन्थीको समस्या धेरै मानिसमा भए पनि परीक्षण नहुँदा अधिकांश रोग पालेर बस्न बाध्य छन्,‘सेवासँगै रोगका बारेमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्छ’ अस्पतालका प्रमुख डा. अमृत अधिकारीले भने ।

थाइराइड रोग हैन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी हुन्छ र यो पुतलीको आकारको हुन्छ। थाइराइडले कपाल धेरै झर्ने, हात काँप्ने, गर्मी बढी हुने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी र कम आउने, निन्द्रामा गडबढी हुने लगायतका विभिन्न किसिमका लक्षण देखिने चिकित्सक बताउँछन् ।