ताजा समाचार:
Search

कोरोना संक्रमित खोज्न बेनीका घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन

ठाकुरप्रसाद आचार्य/बेनी
कात्तिक २३ गते ।       कोरोना संक्रमणको जोखिम बढेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा कोरोना संक्रमित खोजी अभियान सुरु गरिएको छ । बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियानको थालनी गरिएको हो । आइतबार बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल सहितको स्वास्थ्यकर्मीको टोलीले बजारका घरघरमा पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने,जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न सपथ खुबाउने लगायतका सचेतनामुलक कार्यक्रम गरेको छ ।

विभिन्न कारणले कतिपय संक्रमितहरु स्वास्थ्यकर्मीको पहुँच भन्दा बाहिर रहेको हुनसक्ने भएकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर प्रत्येकको नागरिकको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिन अभियानको थालनी गरिएको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

अभियानका क्रममा घरघरमा संक्रमित छनकी छैनन् । संक्रमण लुकाएर बसेका छनकी भनेर खोजी गर्ने अभियान भएको प्रजिअ अधिकारीले बताउनुभयो । यो अभियान नेपालमै पहिलो भएको उहाँले बताउनुभयो ।

नागरिकले संक्रमण लुकाएर बसेका पनि हुनसक्छन् प्रजिअ अधिकारीले भन्नुभयो ‘बजार क्षेत्रमा संक्रमणको दर बढेकाले अभियान मार्फत संक्रमितको खोजी गरिने छ ।’ नागरिकलाई सचेत बनाउने र कोरोना भाइरस रोकथाममा नागरिकलाई परिचालन गर्ने अभियान भएको प्रजिअ अधिकारीले बताउनुभयो ।

नगरका वडा नम्बर ७ र ८ मा दुई टोली बनाएर प्रत्येकका घरघरमा पुगिने नगरपालिका स्वास्थ्य संयोजक लिला गौतमले जानकारी दिनुभयो । घरघरमा पुगेका स्वास्थ्यकर्मीको टोलीले संक्रमित भए नभएको,जनस्वास्थ्यका मापदण्डहरु पालना गरे नगरेको र मापदण्ड पालना गर्ने वारेको प्रतिवद्धता सहतिको सपथ खुबाइने उहाँले बताउनुभयो ।