ताजा समाचार:
Search

बेनीमा थप एकहप्ता लकडाउन

विकल्प न्यूज/बेनी
कार्तिक २१ गते । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जारी लकडाउनलाई एकहप्ता थप गर्ने निर्णय भएको छ । शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ बजे सम्म अत्यावश्यक वाहेकका सवै सेवा र बजार बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको अध्यक्षतामा बसेको वैठकले बेनी बजारमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले समुदाय स्तरमा संक्रमण फैलिन नदिन थप एकहप्ताका लागि बेनी नगरपालिका क्षेत्र भित्रका सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

दैनिक उपभोग्य पसलका हकमा विहान ८ देखि १० बजे सम्म र बेलुका ४ देखि ६ बजे सम्मको समय तोकिएको छ । एकहप्ता अघि गरिएको बन्द आज राती १२ बजे सकिँदै छ । गत विहिवार बेनीमा कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएपछि थप जोखिम बढेको भन्दै उच्च सजगता र सतर्कता अपनाइएको हो । मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सार्वजनिक यातायात खुल्ला र अन्तरजिल्ला आवागमनलाई कायम राखेर गरिएको बन्दको सार्वजनिक रुपमा विरोध भएको छ । बजार र सरकारी कार्यालय मात्रै बन्द कोरोना रोकथामको समाधान नभएको नागरिक समाजका अगुवाहरुले बताएका छन् । कोरोना फैलिएका क्षेत्रहरुबाट निर्वाध रुपमा आवतजावत गर्न दिएर बजार बन्द गर्नुको औचित्य नभएको उनीहरुको भनाई छ ।