ताजा समाचार:
Search

बेनीमा थप एकहप्ता लकडाउन गर्न डिसिसिएमसीमा सिफारिस

विकल्प न्यूज/बेनी
कार्तिक २१ गते ।  बेनी नगरपालिकाले फेरी एकहप्ताका लागि लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको छ । बजारमा कोरोना भाइरस संक्रमण फैलिने जोखिम अझै रहेको भन्दै थप एकहप्ताका लागि बेनी नगरपालिका क्षेत्र भित्रमा अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गर्ने नगरको निर्णय सहित डिसिसिएमसीलाई सिफारिस पठाइएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो ।

समुदायमा कोरोना संक्रमण फैलिनबाट रोक्न एकहप्ता समय थपिएको उहाँले बताउनुभयो । शुक्रबार बस्ने डिसिसिएमसीको वैठकबाट निर्णय भएमा आजै रातीबाट लागू हुने छ । एकहप्ता अघि गरिएको बन्द आज राती १२ बजे सकिँदै छ ।

गत विहिवार बेनीमा कोरोना संक्रमणका कारण एकजना पुरुषको मृत्यु भएपछि थप जोखिम बढेको भन्दै सजगता र सतर्कता अपनाइएको हो । मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

सार्वजनिक यातायात खुल्ला र अन्तरजिल्ला आवागमनलाई कायम राखेर गरिएको बन्दको सार्वजनिक रुपमा विरोध भएको छ । बजार र सरकारी कार्यालय मात्रै बन्द कोरोना रोकथामको समाधान नभएको नागरिक समाजका अगुवाहरुले बताएका छन् । कोरोना फैलिएका क्षेत्रहरुबाट निर्वाध रुपमा आवतजावत गर्न दिएर बजार बन्द गर्नुको औचित्य नभएको उनीहरुको भनाई छ ।