जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १० महिनापछी पक्राउ

विकल्प न्यूज/बेनी
कार्तिक १८ गते । जवरस्ती करणी मुद्धाका फरार अभियुक्त १० महिनापछि पक्राउ परेका छन् । २०७६ पुषमा ११ वर्षीय वालिकालाई जवरजस्ती करणी गरी फरार रहेका बेनी नगरपालिका ५ भिरमुनीका २२ वर्षीय अशोक परियारलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले परियालाई कार्तिक १८ गते पक्राउ गरेको सूचना अधिकृत प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिनुभयो ।
निज अभियुक्तको बिरूद्धमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा करणी सम्बन्धी कसुर (जबरजस्ती करणी) शिर्षकमा मुद्दा दर्ता भई म्याग्दी जिल्ला अदालतबाट पक्राउ अनुमति समेत जारी भएको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा परियारले ११ बर्षीय बालिकालाई बिहे गर्ने प्रलोभन देखाई जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८, दफा २१९ को उपदफा ३९ख० बमोजिम १० बर्ष वा १० बर्ष भन्दा बढी १४ बर्ष भन्दा कम उमेरकी बालिकालाई करणी गरेमा १८ बर्ष देखि २० बर्ष सम्म कैद सजाय तोकिएको छ । १८ बर्ष भन्दा कम उमेरकी बालिकालाई निजको सहमतीमा करणी गरेको भएमा पनि जबरजस्ती करणी गरेको मानिने कानूनी व्यवस्था रहेको छ । परियारलाई कारबाहीका लागि कानुनी प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ ।