नेटवर्किङमा आधारित व्यवसाय गरेर ठगी गर्ने तिनजना पक्राउ

विकल्प न्युज/ बेनी

कार्तिक १८ गते ।

नेटवर्किङ मा आधारित व्यवसाय सञ्चालन गरी ठगि गर्ने तीन जना बिरूद्ध जिल्ला प्रहरी कार्यालयले म्याग्दीले कानुनि कारबाही थालेकाे छ ।

म्याग्दी,पर्वत र बागलुङ  लगाएतका जिल्लामा भारतिय कम्पनी Oriens Global Marketing Pvt. Ltd. ले भारतमा उत्पादन गर्दै आएका बिभिन्न नामका फुड सप्लिमेन्टहरू (Dietary Supplements) नेपालमा ल्याई व्यक्तिहरूलाई राम्रो आम्दानी हुने, सुबिधा सम्पन्न अस्पताल र औषधीले समेत निको हुन नसकेका रोगहरू छोटो समयमा नै निको पार्ने जस्ता प्रलोभन देखाई निश्चित परिमाणमा फुड सप्लिमेन्टहरू किन्न लगाई सदश्यता लिन लगाउने र पिरामिडमा आधारित रही व्यवसाय संचालन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरि कारबाही थालेकाे हाे ।

कार्तिक १ गते  बेनी बजारबाट पक्राउ गरी उनीहरू बिरूद्ध कानूनी कारबाही अगाडी बढाएकोमा अनुसन्धानको क्रममा पर्वत जिल्लाका बिभिन्न स्थानहरूबाट फुड सप्लिमेन्टहरू बिक्रि बितरण गर्ने गरेको देखिएकोले कानूनी क्षेत्राधिकार अन्तर्गत ७ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा थप अनुसन्धानको लागि पठाईएको छ ।

पक्राउ पर्नेहरूमा पर्वत जिल्ला जलजला गाँउपालिका वडा ७ मिलनचोक बस्ने होमनाथ जैसी,सोही स्थानमा बस्ने बर्ष २४ को सरोज शर्मा र काठमाण्डौ जिल्ला का.म.न.पा. वडा ४ टोखा बस्ने प्रदिप रिजाल रहेका छन ।
निज तीनै जनाले बिभिन्न प्रलोभन देखाई व्यक्तिहरूलाई फुड सप्लिमेन्टहरू बिक्रि बितरण गरी ठगी गरेको भनी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी परेकोमा निजहरूलाई जिल्ला प्रहरी कार्यालय, म्याग्दीले तत्कालै पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २४९ अन्तर्गत ठगी मुद्दामा अनुसन्धान सुरुवात गरेकोमा हाल जिल्ला प्रहरी कार्यालय पर्वतमा सोही शिर्षकमा अनुसन्धान हुनुका साथै बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ बमोजिम पिरामिडमा आधारित व्यवसाय समेत संचालन गरेको देखिएकोले सो बिषयमा अनुसन्धानको लागि बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाण्डौमा पठाईएको छ ।

बस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को परिच्छेद २ को दफा ११ बमोजिम नेपालमा कुनै पनि प्रकारको पिरामिडमा आधारित व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था रहेको छ ।
यस्ता व्यवसायहरूले एकातर्फ सोझा सिधा व्यक्तिहरू घरमै बसी पैसा कमाईने नाममा ठगिने, आवश्यकतानै नरहेका वस्तुहरूको खरिद हुने, क्रय शक्ति कमजोर हुने हुन्छ भने अर्को तर्फ आवश्यकता नै नरहेका बस्तुको आयातबाट अर्थतन्त्रमा ठुलो चुनौति देखिन पुग्दछ ।

आम जनसमुदायहरूमा समेत आर्थिक प्रलोभनमा परि यस्ता व्यवसायहरू तर्फ आकर्षित नहुन, कोही कसैले सदश्य बनाउन खोजेको अवस्थामा तत्काल प्रहरीलाई खबर गर्न, तथा आफू र आफ्नो परिवार छिमेकमा समेत यस सम्बन्धी सचेतना अभिवृद्धि गर्न/गराउन जिल्ला प्रहरी कार्यालय, म्याग्दीले  हार्दिक अनुरोध गरेकाे छ ।