स्थापना भएको ४ महिनासम्म पनि बेनी अस्पतालको आईसीयू सञ्चालन हुनसकेन किन ?

ठाकुरप्रसाद आचार्य /म्याग्दी
कार्तिक १८ गते । 

म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष(आईसीयू) दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न कठिनाई भएको छ । चार महिना अघि २ वटा भेण्टिलेटर सहित पाँच शैयाको आईसीयू कक्ष स्थापना गरिएको थियो । तर जनशक्ति अभावमा आईसीयू कक्ष उपयोगविहिन बनेको हो । आईसीयू कक्ष सञ्चालन नहुँदा गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीलाई धेरै पैसा खर्चिएर काठमाण्डौं पु¥याउनुपर्ने बाध्यता रहेको छ ।

कोरोना महामारीलाई लक्षित गरेर गण्डकी प्रदेश सरकारको एक करोड ७९ लाख रुपियाँको सहयोगमा स्थापना भएको आईसीयू कक्षमा आवश्यक पर्ने चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा नियमित रुपमा सञ्चालन गर्न कठिनाई भएको हो । आईसीयू कक्ष नियमित रुपमा सञ्चालन गर्नका लागि एक÷एक जना इन्टरनल मेडिसिन डाक्टर, बेहोस बनाउने डाक्टर (एनएसथिसियोलोजिस्ट),स्टाफ नर्स र ४ जना मेडिकल अफिसरको आवश्यक पर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अमृत अधिकारीले बताउनुभयो ।

आकष्मिक रुपमा कुनै विरामीलाई तत्काल छोटो समयका लागि सेवा दिन त सकिन्छ तर नियमित रुपमा सेवा प्रवाह गर्न दक्षजनशक्ति हामी सँग छैन अधिकारीले भन्नुभयो,‘नियमित रुपमा सञ्चालन गरी सेवा प्रवाह गर्न दक्ष जनशक्ति आवश्यक पर्दछ ।’ जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकार र विभागमा अनुरोध गरेपनि सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो ।

विषम परिस्थितिमा विरामीलाई छोटो समयका लागि आईसीयूमा राख्न सकिने भएपनि लामो समय राखेर उपचार गर्न अस्पतालमा दक्ष जनशक्ति छैन उहाँले भन्नुभयो । आईसीयू सञ्चालन नहुँदा केही दिन अघि मात्र गम्भिर प्रकृतिका दुइजना कोरोना संक्रमितलाई हेलिकप्टर चार्टर गरेर काठमाण्डौं पु¥याइएको थियो ।

कोरोना संक्रमितहरुको उपचारका लागि लक्षित गरेर गण्डकी प्रदेश सरकारले बेनी अस्पतालमा एक करोड ७९ लाख खर्चिएर आईसीयू कक्ष स्थापना गरेको हो । आईसीयू कक्ष स्थापना भएपनि प्रदेश सरकारले जनशक्ति नपठाएकाले सञ्चालनमा कठिनाई भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

पछिल्लो समय बेनीमा लक्षण सहितका कोरोना संक्रमित बढ्दै जान थालेकाले भेण्टिलेटर सहितको आईसीयू आवश्यक पर्ने हुँदा जनशक्ति व्यवस्थापन गरी सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता भएको उहाँले बताउनुभयो । आईसीयू सञ्चालनमा आएमा गम्भिर प्रकृतिका कोरोना संक्रमितको उपचार यहि गर्न सकिने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जनशक्ति व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक तयारी थालेको बताउनुभयो । आईसीयू स्थापना भएका प्रदेश भित्रका जिल्ला अस्पतालहरुलाई आवश्यक पर्ने एकसय ६ जना दक्ष जनशक्ति भर्नाका लागि सूचना निकाल्ने गृहकार्य भएको उहाँले बताउनुभयो ।

आकष्मिक रुपमा आइसीयू सञ्चालन गर्नुपरेमा अस्पतालमै भएको जनशक्ति परिचालन गर्नका लागि तालिम दिएर पठाएको उहाँले बताउनुभयो । करारमा जनशक्ति भर्ना भएपछि आईसीयू कक्ष नियमित रुपमा सञ्चालनमा आउने छन् उहाँले भन्नुभयो ।