विकल्प न्यूज/बेनी
असोज २३ गते । म्याग्दीमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पिसिआर परिक्षणमा विदेशबाट आई बेनी नगरपालिकाको क्वारेन्टाइनमा वसेका व्यक्तिहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विदेशबाट आई क्वारेन्टाइनमा बसेका,सरक्षाकर्की र स्वास्थ्यकर्मी गरी २२ जनाको नमुना संकलन गरी २१ गते पोखरा पठाइएका मध्य ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।
भारत बाट बेनी आई माउन्ट एभरेष्टको क्वारेन्टाइनमा रहेकी बेनी नगरपालिका २ वर्ष २८ की महिला,वर्ष १० र ८ का पुरुष, दुवैबाट म्याग्दी आई म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी नगरपालिका ९ वर्ष २४ का एक पुरुष र नेपाली सेनाको क्वारेन्टाइनमा बसिरहेका सेनामा कार्यरत वर्ष ३८ र ३६ का दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
आजै मात्र पोखरा उपचार गर्न पुगेकी देविस्थानकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ । म्याग्दीमा अहिले सम्म ६३ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य ८ महिला र ५५ पुरुष छन् । बेनीमा निर्माण गरिएको आइसोलेसनमा शुक्रबार थपिएका सहित १० जना रहेका छन् । वाँकी निको भएर घर फर्किसकेका छन् ।