जिसीद्धारा जन्मदिनमा मृगौला पीडित र कैदीबन्दीलाई गरी ५० हजार सहयोग

विकल्प न्यूज/बेनी
असोज २२ गते ।
म्याग्दीका युवा व्यवसायी नारायण जिसीले जन्मदिनमा कारागारमा रहेका कैदी बन्दीलाई र मृगौला पीडितलाई सहयोग गर्नुभएको छ । जन्म दिनमा हुने फजुल खर्चलाई कटौती गरेर युवा व्यवसायी तथा समाजसेवी जिसीले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

बेनी नगरपालिका–६ छापाका जिसीले जन्मदिनको अवसरमा धवलागिरी गाउँपालिका–६ मा पहिरोमा श्रीमति र दुई छोरी गुमाएका मृगौला पीडित धनबहादुर जुग्जालीलाई २५ हजार र जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई दशैंमा भोजनका लागि २५ हजार हस्तान्तरण गर्नुभएको हो ।

निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष एवम् म्याग्दीमा सामाजिक तथा मानवीय सेवामा सक्रिय जिसीले जन्मदिनको अवसरमा विगतका बर्षमा जस्तै विभिन्न क्षेत्रमा सहयोग गरेर मनाएको बताउनुभयो । ‘जन्मदिनका कुनै नयाँ योजना छैन्,‘मलाई जन्मदिनमा अनावश्यक खर्च गर्न मन लाग्दैन’ जिसीले भन्नुभयो ।

गएको असार महिनामा म्याग्दीमा बाढीपहिरोबाट ज्यान गुमाएका, घाईते र राहत वितरणमा ब्यक्तिगत रुपमै लाखौं सहयोग गरेका जिसीले आफ्नो बहिनी गंगा जिसीको सम्झनामा गंगा जिसी फाउण्डेशन मार्फत जामुनाखर्क माविमा १ लाखको अक्षय कोष लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । यसका साथै जिसीले कारोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा स्वास्थ्य सामग्रीहरु पनि सहयोग गर्नुभएको थियो ।